सुचना, समाचार र मनोरन्जन

कालीगण्डकीको धारै परिवर्तन गरेर दोहन

बागलुङ,

आफ्नै गतिमा बगेको कालीगण्डकी नदीको धारै परिवर्तन गरेर दोहन भएको छ ।

बर्खाको समयमा मध्यरातमा दोहन गरिरहने कालीगण्डकीको बागलुङ क्षेत्रमा हिउँदमा कालीगण्डकीको धार नै परिवर्तन गरेर मापदण्डविपरीत ढुङ्गा तथा बालुवा उत्खनन् गर्ने गरेको पाइएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा नदीलाई पर्वत जिल्लातर्फ फर्काएर नदीजन्य पदार्थ निकालिएको छ ।

नगरपालिकाले कालाखोला बगर, भाटेखोला र गलुवा खोलासहितका बगरहरू ठेक्कामा लगाए पनि नदीलाई नै सङ्कटमा पारेर दोहन भएको छ । बागलुङ–१० गलुवा र बागलुङ–१३ कालाखोला बगरमा हिउँदमा कालीगण्डकीमा थोरै पानी बग्दा नदीको धार नै फर्काएर दोहन गर्ने गरेको पाइएको छ ।

बागलुङ नगरपालिकाले हिउँदमा नदीजन्य पदार्थ निकाल्न ठेक्कामा लगाए पनि नदी दोहन मापदण्डविपरीत भएको सरोकारवालाले बताएका छन् । कालीगण्डकी नदीको दोहनले बागलुङ र पर्वत दुबै खण्डमा भूक्षय, बाढी पहिरो तथा नदी छेउका बस्तीमा समेत क्षति पु¥याउन थालेको पाइएको छ ।

कालाखोला बगरमा नदीलाई पर्वततर्फ फर्काएर २५० मिटरभन्दा बढी लम्बाइ, ५० मिटरभन्दा बढी चौडाइ र सात मिटरभन्दा गहिराइमा नदीजन्य पदार्थ ठूला उपकरणको सहायताले निकालिएको अनुगमनमा पाइएकाले कारबाही गर्न नगरपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले जानकारी दिए ।

प्रमुख थापाले ३० प्रतिशत मानवसाधन प्रयोग गर्नुपर्नेमा सत प्रतिशत उपकरणको प्रयोग भएकाले नदीको संरचनानै फेरबदल भएको बताए । “दोहन रोक्न सबैको समन्वय चाहिन्छ, अहिले नगरपालिकाले राजस्व उठाएको छ, तर नगरपालिकाले दिएको मापदण्डविपरीत दोहन भएको पाइएको छ, मापदण्डअनुसारको नदीजन्य पदार्थ र अवैध नदीजन्य पदार्थको ठहर प्राविधिकको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख थापाले भने, “नगरपालिकाले अनुमति दिएकोभन्दा बढी उत्खनन गरेको पाइए कारबाही हुन्छ, नगरपालिकाको सम्झौताभन्दा बढी दोहन भएकाले कारबाही गर्न भनेका छौँ ।”

कालीगण्डकी नदी दोहन चौतर्फी दबाबका बीच नदीमै पुगेर अनुगमन गर्न थालिएको हो । कालाखोला आसपास र गलुवा क्षेत्रमा बढी दोहन भइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर बागलुङ नगरपालिकाले बढीमा दुई मिटरसम्म गहिराइबाट नदीजन्य पदार्थ निकाल्न अनुमति दिए पनि आठ मिटरसम्म गहिराइ बनाएको पाइएको छ ।

Leave A Reply

Your email address will not be published.