सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

‘दान्भी’मा मेरो चाखलाग्दो चरित्र छ जुन अहिले भन्न मिल्दैन : कुन्साङ

काठमाडौं :

तीन दर्जन भन्दाबढी गीतको म्युजिक भिडियोमा अभिनय गरेका कुन्साङ बोमजम फिल्म ‘दान्भी’मार्फत फिल्मी अभिनयमा ‘डेब्यू’ गर्दैछन्। यही असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्मबाट उनी निकै आशावादी र उत्साहित छन्।

फिल्ममा ‘सारांश’ पात्रमा देखिएका कुन्साङ आफ्नो चरित्रबारे त खुल्दैनन्, तर आफ्नो काम दर्शकले स्वीकार्नेमा ढुक्क छन्। ‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ । तर अहिले भन्न मिल्दैन। फिल्म हेरेपछि थाहा हुन्छ । मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ। फिल्ममा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु’ कुन्साङ भन्छन्।

सेन्ट जेभियर्सबाट पास आउट कुन्साङ स्कुल पढ्दादेखि नै नाटकका कलाकार र कराँतेका खेलाडी रहेछन् । ‘मैले कक्षा ३ देखि ११ सम्म मार्सल आर्ट गरें। ११ पछि मार्सल आर्टको काम रोकियो । मार्सल आर्टले अहिलेसम्म निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न सजिलो हुन्थ्यो। तर बीचमा ग्याप भएपछि यही फिल्मका लागि मैले ६ महिना एक्सन प्राक्टिस गरें’, कुन्साङ भन्छन्। कुन्साङ दर्शकले फरक एक्सन थाहा पाउन ‘दान्भी’ हेर्नुपर्ने दाबी गर्छन्।

IVF Big

‘नेपाली फिल्म क्षेत्रमा एक्सन फिल्म नआएको धेरै भएको थियो। त्यसमाथि महिलालाई लिडमा लिएर एक्सन भएको त धेरै कमी नै छ। पहिला रेखा थापाले ठूलो छाप छोड्नुु भएको थियो,त्यसपछि कोही अभिनेत्री एक्सनमा देखिनुभएको थिएन। पुजाजीले निकै मेहनतका साथ एक्सन गर्नुभएको छ । फिल्ममा एक्सन कथावस्तु अनुसार गएको छ’, उनी भन्छन् ।

म्युजिक भिडियोको आफ्नो रोमान्टिक छविलाई ‘दान्भी’ले परिवर्तन गर्नेमा उनी ढुक्क छन्।
उनी भन्छन्,‘दर्शकले गीत, ट्रेलरमा मेरो लुक्स देखिसक्नुभएको छ । अझ म्युजिक भिडियोमा मेरा फ्यानले मेरो काम देखिसक्नुभएको छ । अब यो फिल्म हेरिसकेपछि मेरो अभिनय क्षमता कस्तो रहेछ भनेर थाहा पाउनुहुनेछ।’ फिल्मको स्क्रिप्टमा आफ्नो चरित्रका कारण ‘दान्भी’मा जोडिएको कुन्साङ बताउँछन्।

‘सुरुदेखि अन्त्यसम्म मेरो जुन क्यारेक्टर गएको छ, त्यो फिलिङ, इमोसनमा आफूले काम देखाउन पाएको छु । दर्शकका लागि मेरो काम फेरी फरक लाग्न सक्छ,’ उनी भन्छन् ।

सेन्ट जेभियर्स पढ्दा उनले कक्षा ६ देखि १२ सम्म विभिन्न कथावस्तुका नाटकमा प्रमुख भूमिकामा अभिनय गरे । विदेशबाट आएका कलाकारले पनि उनीहरुलाई नाटक सिकाउँथे । त्यहीकारण उनले अभिनय सिक्नुपर्ने अवस्था खासै आएन । नेपाली र अङ्ग्रेजी नाटकको अभिनयले उनलाई ‘हिरो’ हुन्छु भन्ने नभए पनि फिल्ममा चाहिँ अभिनय गर्छु भन्ने उसबेलै लागेको रहेछ ।

रुपेश तामाङ निर्देशित फिल्म ‘दान्भी’ मा पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.