सुचना, समाचार र मनोरन्जन

मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै

मधेश प्रदेशका महोत्तरी लगायत जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा छ । यसैअनुसार यो पर्व सामूहिक भोजन गर्दै रमाइलो चाडपर्वका रूपमा मनाउने गरिन्छ ।

यस पर्वमा अमला (धातृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । यसका लागि एक दिन पहिलेदेखि नै त्यहाँ सामूहिक भोजनको तयारी हुन्छ । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमा नै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । घर नजिक आँगन वरपर नै अमलाको रूख हुनेहरू दिनभरि विभिन्न परिकार पकाएर रात परेपछि सपरिवार खान्छन् ।

खाना पकाउँदा वा खाने समयमा अमलाका पात खानेकुरामा पर्दा राम्रो हुने जनविश्वास छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गर्न यो पर्वको परम्परा चलेको मटिहानीकी लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डाक्टर रवीन्द्र दास वैष्णवले बताए ।

सांस्कृतिक तथा पारम्परिक चाडपर्वमा पछिल्लो पुस्ताको सहभागिता बढ्नु यसको संरक्षणका लागि महत्त्वपूर्ण हुने धेरैको बुझाइ छ । यसरी किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउने जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायको भनाइ छ ।

खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि पनि सहयोगी भएको बर्दिबास–१२ बिजलपुराका बासिन्दा वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताए ।

Leave A Reply

Your email address will not be published.