Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने
- नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी
- यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई जाँदै
- थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
- समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
- पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
- रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आइतबारदेखि नियमित सुनुवाइ हुने
- गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
- जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
- भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त
थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् ।
‘चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदलयात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र अर्को दिन रामग्राम स्तुप पुग्ने कार्यक्रम रहेको छ ।
पदयात्रा टोलीका प्रमुख आचार्य चालान अनङ्कानोले बुद्धभूमि लुम्बिनीबाट यात्रा सुरु गर्न पाउनु आफूहरूका लागि ठूलो सौभाग्य भएको बताउनुभयो । उहाँले यो यात्रा मन र आत्मालाई शुद्ध पार्ने, धर्मको अभ्यास गर्ने तथा समाजमा करुणा र दयाको भावना फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए ।
“हामी बुद्धका पाइलाहरू पछ्याउँदै धर्म अभ्यास गर्न यहाँ आएका हौँ”, उनले भने, “लुम्बिनीजस्तो पवित्र स्थलको संरक्षण गरिदिने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधुवाद र धन्यवाद व्यक्त गर्दछौँ ।” थाइल्याण्डको श्रीसाकेत प्रान्तस्थित ‘उद्यान धाम डोंग याङ’ बाट आएका भिक्षुहरुको टोलीको नेतृत्व आचार्य चरन अनङ्खानोले गरेका छन । टोलीमा थाइल्याण्डका भिक्षुहरूका साथै लाओस, मलेसिया र भियतनामका भिक्षुहरू पनि सहभागी छन् ।
भन्ते विचयाका अनुसार यो पदयात्रा मुख्यतः शान्ति र आत्म अनुशासनको अभ्यासका लागि गरिएको हो । “मानिसले आफ्नो जीवनमा सहनशीलता र आत्मनियन्त्रण कति महत्वपूर्ण छ भन्ने अनुभव गर्न यस्तो यात्रा सहयोगी हुन्छ”, उनले भने ।
पदयात्राका सहभागीहरु प्रत्येक पाइला सचेतनतासहित हिँड्दै करुणा र मैत्रीभावको अभ्यास गर्ने लक्ष्यका साथ यात्रा गरिरहेका छन् । आयोजकका अनुसार यो यात्रा बुद्ध धर्मका अनुयायीहरूले बुद्धका जीवन र शिक्षालाई स्मरण गर्दै आध्यात्मिक साधना गर्ने अवसर पनि हो ।
रामग्राम पुगेपछि टोली भारततर्फ प्रस्थान गरी कुशीनगर, वैशाली हुँदै बोधगयासम्म पैदलयात्रा गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस प्रकारको पदयात्रा आचार्य चरन अनङ्खानोको नेतृत्वमा हरेक वर्ष आयोजना हुँदै आएको टोलीमा सहभागी स्वयंसेवक अकनन्ले जानकारी दिए ।
