सुचना, समाचार र मनोरन्जन
Sarangi

मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

 

 

दाङ : घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उनी यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी रु डेढ लाख बढी आम्दानी गरेको बताउँछन् ।

 

पछिल्लो समय नयाँ मादल खरिद गर्नेभन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए । “पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ । अरु बेला सुनसान हुने हाम्रो व्यवसाय दसैं–तिहारको अवसरमा बढोत्तरी हुन्छ । दशैँमा नाच्ने र तिहारमा देउसी–भैलो खेल्नका लागि मादलको माग बढी हुने गरेको छ । जसले गर्दा राम्रो आम्दानी हुन्छ”, बादीले भने ।

 

आम्दानी मात्रै होइन आफ्नो पुस्ताले यो पेसा नै संरक्षण गरिरहेको उनको भनाइ छ । “पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ । मैले सानैमा बुबा–बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउँन सिके, त्यही सिपले अहिले दैनिकी चलाइरहेको छु”, बादी भन्छन्, “तर अहिलेको पुस्तामा मादल बनाउने सिप छैन । न आकर्षण छ ।”

 

घोराहीमा विगत ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उन ियही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको बताउँछन् । “हाम्रो अरु पेसा सङ्कटमा प¥यो । समय बदलिँदै जाँदा यो पेसा पनि विस्तारै हराउला तर पनि त्यो सिप भएकाले हाल हातमुख जोर्न सहज भएको छ । योभन्दा अरु सिप पनि छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन”, उाको कथन छ ।

 

मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाए । “चाडपर्वको समय छ । नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५÷२० जना मानिसहरु आउने गरेका छन् । तर एक्लै भएकाले काम गर्न समस्या छ । त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन् । त्यसैले योबेला मागअनुसार काम गर्न कठिन छ”, उनी भन्छन् ।

Leave A Reply

Your email address will not be published.