सुचना, समाचार र मनोरन्जन

मध्यरात पनि ‘महाजात्रा’ हेर्ने दर्शकको घुँईचो

काठमाडौँ :

‘महाजात्रा’ दोस्रो सातामा प्रदर्शनरत छ। फिल्म हेरिसकेका दर्शकले सिफारिस गरेपछि यतिबेला दर्शक हलमा भरिभराउ छन्। नयाँ दर्शकसँगै परिवार नै हलमा देखिएका छन्। विश्वभर आक्रामक व्यापार गरिरहेको फिल्म हेर्ने दर्शकको सङ्ख्या बढेपछि मध्यरातसम्म प्रदर्शन भएको छ । बुधवार चाबहिलमा रहेको एफक्यु सिनेमाजमा दर्शकको अत्यधिक चाँप बढेपछि १०ः३० बजेको शो थपियो।

Gokarna Karki

उक्त शो सकिदा १ः३० बजेको थियो । यस्तै, ९ बजेसम्मको शो अधिकाँस मल्टिप्लेक्समा रहेको छ भने जमलमा रहेको विश्वज्योति सिनेपल्केसमा पनि बुधवार ९ः३० बजेको शो राखियो ।

यहि शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गर्दापनि हलमा दर्शकको भिड दिनानुदिन बढ्दो छ । राति अबेरसम्म दर्शक हलमा भएपछि हर्षित देखिका कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले हल पुगेर भेटेका थिए ।

उनले दर्शकले देखाएको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए ।

‘हाम्रो फिल्मलाई माया गरेर राति अबेरसम्म दर्शक हलमा देख्दा निकै खुसी लागेको छ । थप खुसी उहाँहरू फिल्म हेरेर निस्किदै गर्दा दिने प्रतिक्रियाले दिन्छ । उहाँहरूले हामीलाई भेटेर आशिर्वाद दिनुभएको छ, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिनुभएको छ’, अभिनेता बानियाँले भने ।

उनले विद्यार्थीको विभिन्न तहको परिक्षा सकिदै गर्दा दर्शक चाँप झनै बढिरहेको बताए । सामाजिक सञ्जाल र हलमा भेटिने दर्शकहरू समूहमा आइरहेको उनले बताए । ‘हामी समय मिलाएर अधिकाँस हलमा पुगेर दर्शकलाई धन्यवाद दिएर प्रतिक्रिया लिईरहेका छौँ । दोस्रो साता पुरा हुँदै गर्दा पनि हाउसफुल हुनु दर्शकको अपार माया हो’, उनले भने ।

एफक्युबमा रहेका दर्शकले दिउँसोको समयमा टिकेट नपाइएको र अफिसियल काममा बिजी भएकाले रात्रीकालिन शो हेर्न आएको बताए । उनीहरू साथी तथा परिवारसँग फिल्म हेर्न आइपुगेका थिए । उपस्थित दर्शकको प्रतिक्रियालाई निर्माण समूहले आफ्नो आधिकारी सामाजिक सञ्जालमार्फत प्रशारण गरेको छ।

अभिनेता बानियाँले नेपाली फिल्मलाई मध्यरातका शो दिएमा दर्शक आउने प्रमाणित भएको बताए। ‘दिउँसो त हलमा दर्शकहरु भेटेकै हो । तर यसरी मध्यरातमा दर्शक भेटेको पहिलो अनुभव हो । हाम्रो लागि यो एउटा इतिहास जस्तै बनेको छ । रातिको २ बजे हलमा दर्शकहरूसँग बाँड्नु हाम्रो समूहका लागि ठूलो सफलता हो’, अभिनेता बानियाँले भने।

शुक्रबारदेखि प्रदर्शनको दोस्रो साता पुरा गरेर तेस्रो सातामा लाग्दै गर्दा फिल्मको उल्लेख्य शो रहेको छ। दर्शकको चाँप बढेकै कारण प्रदर्शकले विकेन्डमा फिल्मलाई राम्रो शो दिएका छन्। नेपाल मात्र नभई फिल्मले विदेशमा पनि उस्तै दर्शक पाएको छ।

नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० बढी शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा १५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ । यी सबै शो सोल्ड आउट भएका थिए ।

अझै माग अनुसार थपिने शोले अहिलेसम्म विदेशमा बनेको रेकर्ड तोडेको छ । मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ। मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ। अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ।

फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई,  पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.