मनाङ,
जिल्ला प्रशासन कार्यालय मनाङले एक हप्ताका लागि अन्नपूर्ण पदमार्गको पदयात्रामा रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक हप्तासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आग्रह गरेको हो ।
हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्कन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । हिउँ र पानी पर्न बन्द भए पनि अहिले नै पदयात्रा सम्भव नरहेको उहाँको भनाइ छ । झन्डै १ हजार पाँच सय आन्तरिक तथा बाह्य पर्यटकको अस्ति मङ्गलवार उद्धार गरिएको थियो । त्यसमध्ये झन्डै दुई सय विदेशी पर्यटक थिए । हिमपातका कारण तिलिचो आधारशिविरमा रोकिएका झन्डै चार सय पर्यटक तिलिचो जान नसकेपछि फर्केका थिए ।
यसैबीच वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । गएको सोमवार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् । अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि मङ्गलवार दिनभर भुसकेतको आश्रयस्थलमा बसेको र हिजो बुधवार पञ्चकुण्ड तालसम्म पुगेर फर्किएको बताए।
आधार शिविरबाट हिँडेर आएकाहरूलाई हुमखोलाबाट नारच्याङ झर्ने गाडीको भने अभाव भएको छ । आधार शिविर गएका पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोली अन्नपूूर्ण गाउँपालिकासँग समन्वय गरेर आधार शिविरतर्फ लागेको छ ।