सुचना, समाचार र मनोरन्जन

चुनाव घोषणापछि २ लाखभन्दा धेरै मतदाता थपिए

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा मतादाता नामावलीमा नाम दर्ता र दल दर्ता गराउने क्रम तीव्र बनेको छ । फागुन २१ गते मताधिकार प्रयोग गर्न मतादाताले र सहभागी हुन दलले यही कात्तिक ३० गते अर्थात् आउँदो आइतवारसम्मको समयसीमा छ ।

समयसीमा नजिकिएसँगै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरूमा भीड छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव घोषणा भएपछि हिजोसम्म २ लाख ९ हजार ५ सय २२ नयाँ मतदाता थपिएका छन् ।

यस्तै चुनाव घोषणापछि २१ वटा नयाँ दलले दर्ताका लागि आयोगमा निवेदन दिएकामा प्रक्रिया पुर्‍याएर प्रमाणपत्र दिने क्रम चलिरहेको छ । आयोगमा अहिलेसम्म १ सय २५ वटा दल दर्ता भएका छन् ।

पछिल्लो दिनमा कबिर सोपको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएको छ । दल विभाजन भई राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दल भएका छन् ।

चुनाव सम्पन्न गराउनेबारे आयोगले दललगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यस्तै प्रधानमन्त्री सुशीला कार्कीले पनि सर्वदलीय बैठकसहितका छलफल आयोजना गरेका छन।

Leave A Reply

Your email address will not be published.