गण्डकी : उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दशैं, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् ।
पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको याम उत्तम मानिन्छ । पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनास्लुलगायत पर्यकीय गन्तव्यस्थलमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने गर्छन् । कोही परिवारसित त कोही साथीसङ्गी मिलेर पदयात्रामा रमाउँछन् । कुनैताका विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।
सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ ।
पदयात्रा पर्यटनका लागि विश्वमै चर्चित बनेका गन्तव्यस्थल नेपालमा छन् । बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ती गन्तव्यस्थलको भ्रमणमा निस्कन्छन् । तपाईंले पनि यसपालिको दसैँ बिदामा घुमघामको योजना बनाउनुभएको छ भने पर्यटकीय राजधानी पोखरा आसपासका यी पर्यटकीय गाउँ तपाईंको रोजाइमा पर्न सक्छन् ।
यहाँका आकर्षक गन्तव्यस्थ, रैथाने जनजीवन, खानपान, स्वच्छ हावापानी, आतिथ्य संस्कार, संस्कृति, रहनसहन आदिले पर्यटक लोभ्याउने गरेको छ । स्थानीय पर्यटन व्यवसायी, गाउँका अगुवा र पर्यटन प्रवर्द्धन गर्ने निकायका अधिकारीसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ ।
मोहिनी सिक्लेस
पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस गाउँ अवस्थित छ । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने यो गाउँ घुमफिरका लागि चल्तीको गन्तव्य हो । हिउँचुलीको काखमा झुरुप्प परेको बस्ती, वरिपरि हरिया वनपाखा र खर्क, हिमालको सिरसिरे हावा, तलपट्टि सुसाइरहेको मादी खोला आदिले सिक्लेसलाई चित्रमय बनाएका छन् । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यो गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हो । ग्रामिण पर्यटनको अनुपम धरोहर हो ।
अन्नपूर्ण हिमालको फेदबाट बहने मादी खोलाछेउमा सिक्लेस गाउँ सजिएर बसेको छ । मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र न्यानो आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउने गर्छ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा सिक्लेसका सौन्दर्य हुन् । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अडाउँछन् अनि मन शान्त पार्छन् ।
बिहान र दिउँसोमा चिटिक्क देखिने यो गाउँलाई रातमा भने बिजुलीले झलमल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने सिक्लेस पदयात्राका लागि बढी लोकप्रिय छन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ सिक्लेसमा पर्यटकको आउजाउ बढेको हो । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै ३८ सय मिटरको कोरी लेक पुग्छन् ।
सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईवटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् ।
पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई थप उजागर गरिदिएका छन् । दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको हो । सुरुमा सामुदायिक घरबासबाट सुरु भएको सिक्लेसको पर्यटन व्यवसायले अहिले फड्को मारेको छ ।
दर्जनौँ घरबास र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको छ ।
वि.सं. २०६३ असार २ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ ।
सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई/अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ ।
पदयात्रा गर्दा एक दिन लाग्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ । सिक्लेस समुद्री सतहदेखि दुई हजार मिटर उचाईमा पर्छ । यहाँ एउटै बनोट र बान्कीका चार सयभन्दा बढी घर छन् । जसमध्ये ९५ प्रतिशत गुरुङको बसोबास छ । हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्लखा र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेसको सौन्दर्य उसैगरी खुल्छ ।
अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यो गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् । निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ ।
यहाँका घरबासमा आन्तरिक पर्यटकका लागि रु १२ सयको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान/बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ । पोखरादेखि पैदल घण्टा र मोटरमा घण्टामा सिक्लेस पुग्न सकिन्छ । खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु पाइन्छ । पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिन्छ ।
अहो ! ल्वाङ
कास्कीको पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो । गुजुमुज्ज गुरुङ बस्ती यहाँको मुख्य आकर्षण हो । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गाकै छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा । ल्वाङ गाउँका आकर्षण हुन् यी । प्रकृति र संस्कृतिले सजिएको ल्वाङ गाउँमा सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ । ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैमा चित्ताकर्षक छ ।
ग्रामीण जनजीवन, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ । वि.सं. २०६७ मा घरबास सञ्चालनमा आएपछि यो गाउँले पर्यटनमा फड्को मारेको हो । सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ । एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ ।
प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेका छन् । मुख्य गरी आन्तरिकको पर्यटक ल्वाङ गाउँ पुग्छन् । पोखरादेखि दुई घण्टाको मोटरयात्रा पुग्ने सकिने यो गाउँको आउजाउ सहज छ । घमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त मानिन्छ ।
समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाटमाछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् ।
स्थानीयवासीले पाहुनालाई गुरुङ संस्कृति र संस्कार गरेका छन् । रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ ।
घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाँकनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो ।
गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट वि.सं. २०५३/५४ तिर चिया रोपिएको थियो । ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको थियो ।
ल्वाङ गाउँमा घराबसमा पनि पर्यटकलाई बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु १२ सय तोकिएको छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ । उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ ।
ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँका मुख्य आकर्षण हुन् । ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिन्छ । पर्यटकीय सहर पोखरादेखि २० किमि मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झण्डै चार घण्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भीर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जादेखि खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।
हिमाल हेर्न घान्द्रुक
वि.सं. २०२६/२७ तिर फाट्टफुट्ट पर्यटक आउन सुरु भएको घान्द्रुक अहिले नेपालकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा स्थापित छ । सुरुमा एक/दुईवटा होटलले पर्यटकलाई सेवा दिँदै आएकामा वि.सं. २०४०/४२ देखि घान्द्रुकमा होटल थपिँदै जान थाले । पर्यटकको आउजाउ पनि बाक्लिन थाल्यो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँ चल्तीको गन्तव्यका रुपमा देशी विदेशीमाझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले त्यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । हिमालको काखमा पहाडे शैलीका लहरै घर । ग्रामिण परिवेश र हावापानी । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन । पाहुनाको सत्कारका लागि खुलेका घरबास । गाउँकै उब्जनीबाट बनेका परिकार । घान्द्रकुमा पर्यटक लोभ्याउने चीज यिनै हुन् ।
घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यले जोकोहीलाई लोभ्याउँछ । डाँडागाउँका केही घरलाई भने अझै पनि जोगाएर राखिएको छ । केही व्यवसायीले पुरानै घरलाई सिँगारेर होटलका रुपमा चलाएका छन् ।
कङ्क्रिटका भवनमा होटल खुल्ने क्रम बढ्दो छ । आधुनिकताका नाममा घान्द्रुकको पुरानो चिनारी नासिने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । घान्द्रुकमा रिसोर्टसहित ५४ वटा होटल छन् भने १८ वटा घरबास छन् । पर्यटक स्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटकीय याममा एकैदिनमा दुई/तीनहजारसम्म पर्यटक त्यहाँ पुग्छन् ।
स्वदेशीपछि सबैभन्दा बढी चिनियाँ पर्यटकले घान्दु्रकलाई गन्तव्य बनाउँछन् । भारतीयदेखि युरोप, अमेरिकासम्मका पर्यटक त्यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ ।
पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा जाँदा एक/डेढ घण्टामै पुग्न सकिन्छ ।