स्याङ्जा : सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिइन् ।
एक वर्षअघि जेठमा भागी बिहे गरेकी परियारलाई बिहे गर्न २० वर्ष पुग्नुपर्छ भन्ने थाहै थिएन । न त उनलाई थाहा थियो सानै उमेरमा आमा बन्न हुन्न भनेर । भागी बिहे गरेकी परियार कलिलै उमेरमा गर्भवती बनिन् । उनलाई परिवार नियोजनका साधनका बारेमा राम्रो ज्ञान पनि भएन । उमेर कलिलै भएकाले केही समय पर धकेल्न अस्थायी साधनको प्रयोग गर्न सकिने हुँदाहुँदै पनि उनी सानै उमेरमा आमा बन्नुपर्ने अवस्था आयो ।
छोराको न्वारन भर्खरै सकेकी परियारले आफ्नो बिहे दर्ता र छोराको जन्मदर्ता अब गर्ने बताइन् । ‘तपाईंको बिहे दर्ता २० वर्ष नपुगी हुँदैन नि ?’ भनी गरिएको प्रश्नमा उनले यसबारेमा आफूलाई केही पनि थाहै नभएको जवाफ दिइन् । समुदायस्तरमा कानुनी अज्ञानताकै कारण अझै पनि २० वर्ष उमेर नपुग्दै बिहे हुने र आमा बन्नेहरू थुप्रै छन् ।
आफ्नै शारीरिक, मानसिक तथा अन्य विकासहरू पूर्ण नभइसकेको अवस्थामा आफूसँगै बच्चाको स्याहारसुसार गर्नु पक्कै पनि चुनौती हो । जोखिम मोलेर आमा बन्दै गर्दा आमा तथा बच्चाको स्वास्थ्य, शारीरिक, मानसिक असर पर्न सक्छ । उमेर नपुगी कलिलै अवस्थामा गर्भवती भई आमा बन्न आउने युवतीमा प्रसव पीडा अत्यधिक देखिने गरेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालकी सिनियर अनमी तीला राना बताउँछिन् ।
उमेर नपुगेकाहरू सुत्केरी हुन अस्पतालमा आउँदा कलिलै उमेरमा आमा बन्न हुन्नथ्यो नि भन्दा ‘थाहै भएन’ भन्ने जवाफ पाउने गरेको उनी बताउँछिन् । “आफ्नै शारीरिक अङ्गहरूको विकास हुन नपाउँदै आमा बन्दा समस्या हुने कुरा सुनाउँदा अप्ठ्यारो महशुस गर्नुहुन्छ” उनले भनिन्, “सुरक्षित रुपमा सुत्केरी भएर गइसकेपछि पनि आफ्नो र शिशुको स्याहारसुसार तथा स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव र परामर्श दिन्छौँ ।”
कलिलै उमेरमा आमा बन्दा आफ्नै स्याहार सुसार गर्न नसक्ने अवस्थामा त्यसैमाथि नवजात शिशुको स्याहारसुसार गर्न नसक्ने, नजान्ने भएकाले यस्तो बेलामा परिवारले विशेष ख्याल गर्न पनि सुझाव दिने गरेको उनले बताइन् । “पहिलो सन्तान र दोस्रो सन्तानबीच जन्मान्तर राख्नका लागि घरपरिवार साथै दम्पतीलाई सुझाव दिन्छौँ”, उनले भनिन्, “जन्मान्तरका लागि अस्थायी साधनको प्रयोगमा जोड दिन्छौँ ।”
उमेर नपुग्दै कतिले भागी बिहे गर्ने त कतिले परिवारको दबाबमा बिहे गर्ने गरेका छन् । सानै उमेरमा अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क राख्नाले आमा बन्नुपर्ने बाध्यात्मक स्थिति पनि रहेको उनी बताउँछिन् । अस्पतालमा तल्लो उमेर समूहमा १६ वर्षसम्मका युवती सुत्केरी भएका छन् । अस्पतालमा सुत्केरी हुन छिमेकी जिल्ला पाल्पा, पर्वतको दक्षिणी भेग तथा स्याङ्जाकै अन्य केही स्थानीय तहहरूबाट आउने गरेका छन् ।
नेपालको कानुनले २० वर्ष उमेर नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता दिँदैन । बीस वर्ष उमेर नपुगी विवाह दर्ता नभए पनि २० वर्षभन्दा कम उमेरका आमाबुबाबाट जन्मेका शिशुको भने जन्मदर्ता हुन्छ । आमाबाबुको नागरिकता प्रमाणपत्रको आधारमा, बच्चा जन्मेको अस्पतालले दिने प्रमाण पत्रका आधारमा बच्चाको जन्मदर्ता गर्न सकिने वालिङ नगरपालिका–८ का सचिव प्रेमनारायण सुवेदी बताउँछन् । “यस्तो अवस्थामा कसैले ३५ दिनभित्रै जन्मदर्ता गराउनुहुन्छ” उनले भने, “कसैले २० वर्ष पूरा भएपछि विवाह दर्ता गर्ने र बच्चाको जन्मदर्ता गराउनुहुन्छ ।”
केही समय पहिले नै विवाह गरे पनि कानुनी सीमाका कारण २० वर्ष पूरा भएपछि मात्रै बिहे दर्ता गर्न आउनेहरू पनि छन् । ‘बिहेवारी २० वर्ष पारी’ कानुनमा स्पष्ट उल्लेख गरिएको छ । २० वर्षभन्दा मुनिको विवाह कानुनविपरीत मानिन्छ अर्थात् विवाह दर्ता नै हुँदैन । कानुनी रुपमा २० वर्षमुनिका विवाह कानुनविपरीत देखिँदै गर्दा उमेर नपुग्दै आमा बन्नेको संख्या स्याङ्जामा भयावह छ ।
देवानी संहिताले २० वर्षमुनिको विवाहलाई बदरयोग्य विवाहका रुपमा राखेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । देवानी संहिताले २० वर्षमुनिको विवाहलाई चिन्दैन । संहिताले २० वर्षमुनिको विवाहलाई कानुनी मान्यता नदिए पनि २० वर्षमुनिका महिला पुरुषको सम्बन्धबाट जन्मेको बच्चाको जन्मदर्ता गराउन कुनै पनि असर पर्ने छैन भनी पञ्जीकरण ऐनमा उल्लेख भएको उनी बताउँछिन् । यसैका आधारमा रहेर बच्चाको जन्मदर्ता हुने गरेको छ । “बीस वर्ष उमेर पूरा नभई विवाह गर्दा हुने आमा र बच्चाको स्वास्थ्यमा पर्ने असरहरू, कानुनी सचेतनालगायतका सवालमा सर्वसाधारणलाई बुझाउन जरुरी छ”, उनले भनिन्, “कानुनी सचेतनालाई तल्लो तहसम्म पु¥याउनका लागि सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।”
उमेर नपुग्दै हुने विवाह प्रायः घरपरिवारलाई थाहै नभई भागी विवाह हुने अथवा बिहेपछि मात्रै परिवारले थाहा पाउने अवस्था छ । उमेर नपुग्दै विवाह हुँदै गरेको थाहा पाएमा त्यसलाई रोक्ने गरिएको उनले बताइन् । ठाउँठाउँमा यस्ता विवाहहरू बाल क्लबमार्फत रोकिएका छन् । “किशोरावस्थामा केटाकेटी एकअर्काप्रति आकर्षित हुँदै शारीरिक सम्बन्धमा गाँसिने, गर्भवती हुने अनि मात्रै परिवार तथा समुदायले थाहा पाउने अवस्था छ”, उनले भने, “बालविवाह हुनै नदिन र बच्चा हुनुभन्दा पूर्वका क्रियाकलाप रोक्नका लागि सचेतना जगाउनमा जोड दिनुपर्छ ।”
सानै उमेरमा हुने विवाह तथा आमा बन्नबाट रोक्नका लागि पनि विद्यालय तहमै यौन तथा स्वास्थ्य शिक्षाका बारेमा जानकारी दिनुपर्छ । विद्यालय शिक्षा, पारिवारिक संस्कार र स्थानीय तहहरूले कानूनी सचेतनाका क्षेत्रमा गर्ने लगानी बढी महत्वपूर्ण हुने प्रजिअ नेपाल बताउँछन् । जिल्लामा सुत्केरी भएका महिलामध्ये १३ प्रतिशतभन्दा बढी महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । आफ्नै स्याहारसुसार राम्रोसँग गर्न नसक्ने उमेरमै आमा बन्दा आफ्नो र शिशुको स्याहारसुसारमा समस्या हुने गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाभित्रका अस्पताल तथा बर्थिङ सेन्टरहरूमा सुत्केरी भएका नौ सय ७९ मध्ये एक सय ३२ महिला २० वर्ष नपुग्दै आमा बनेका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईंले बताए । “स्याङ्जाका विभिन्न स्वास्थ्य संस्थाहरूमा सुरक्षित रुपमा सुत्केरी हुने आमाको संख्या नौ सय ७९ रहेको छ”, उनले भने, “कूल संख्याको १३ दशमलव ४८ प्रतिशत महिला उमेर नपुग्दै अर्थात् २० वर्षभन्दा कम उमेरका आमा बनेका छन् ।”
जिल्लास्थित स्वास्थ्य संस्थामा सुत्केरी हुने र बाहिरी जिल्लाका अस्पतालमा गएर सुत्केरी हुने महिलाको संख्या उस्तै–उस्तै रहेको उनले बताए । गर्भवती तथा सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्थालाई मध्यनजरगरी स्याङ्जाबाट पायक पर्ने जिल्ला बाहिरका ठूला अस्पतालमा जाने संख्या ठूलो छ । जिल्लाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेको तथ्याङ्क भए पनि बाहिर गएर सुत्केरी हुने आमाहरूको यकीन तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छैन ।
स्याङ्जाका विभिन्न ठाउँबाट गर्भवती भएका महिला सुत्केरी हुने समय नजिकिँदै गर्दा पोखरा, पाल्पा, बुटवललगायत ठाउँका सुविधा सम्पन्न अस्पतालहरूमा जाने गरेका छन् । उमेर नपुग्दै आमा बन्नेहरूमा सबैभन्दा धेरै वालिङ नगरपालिकामा रहेको देखिएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार कूल चार सय एक जना वालिङमा सुत्केरी भएका थिए । यसमध्ये ५७ जना महिला २० वर्षमुनिका रहेका छन् । त्यस्तै पुतलीबजार नगरपालिकामा ४४ महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । यद्यपि पुतलीबजार नगरपालिकामा जिल्ला अस्पताल र वालिङ नगरपालिकामा ग्रहौं प्राथमिक अस्पताल रहेकाले पनि यी पालिकाका अलावा बाहिरबाट आएर पनि सुत्केरी भएको हुनसक्ने देखिन्छ ।
बिरुवा गाउँपालिकामा सात, चापाकोट नगरपालिकामा पाँच, भिरकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, हरिनास गाउँपालिका, अर्जुनचौपारी गाउँपालिकामा समान चार/चार जना, गल्याङ नगरपालिका, फेदीखोला गाउँपालिका र आँधीखोला गाउँपालिकामा समान एक/एक जना महिला २० वर्ष उमेर नपुग्दै आमा बनेका स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख चापागार्इंले बताए ।
कलिलै उमेरमा विवाह गर्ने र विवाह गरेको छोटो समयमै गर्भवती बन्दा शारीरिक अङ्गहरू परिपक्क भइसकेका हुँदैनन् । आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालीन असरहरू देखा पर्छन् ।
उमेर नपुग्दै बच्चा जन्माउँदा सुत्केरी आफ्नै र शिशुको स्याहारसुसारमा कमी हुन सक्छ । तौल कम भएको बच्चा जन्मिने संभावना पनि उत्तिकै रहन्छ । सानै उमेरमा सुत्केरी बन्दै गर्दा महिना नपुगी बच्चा जन्मिने, तौल कम भएको बच्चा जन्मिने, आमा र बच्चामा पौष्टिक आहारको कमि हुने, आमाको पाठेघरमा विभिन्न सङ्क्रमणको जोखिम, बच्चा पातलो र ख्याउटे जन्मिने संभावना हुन्छ ।
सुरक्षित रुपमा गर्भपतन गराउन सकिने भए पनि उक्त सेवा किशोरीहरूको पहुँचमा नहुनु, गर्भपतन सेवासम्बन्धी पर्याप्त जानकारी नहुनु, परिवार नियोजनका साधनहरूको प्रयोगमा ध्यान नदिनु, साधनहरूको प्रयोग गर्ने तरिका, विधिको ज्ञान नहुनुले पनि कलिलै उमेरमा आमा बन्नुपर्ने अवस्था आउने गरेको छ । अनिच्छित गर्भ सुरक्षित रुपमा गर्भपतन गर्न सकिने हुँदाहुँदै पनि त्यसको जानकारी नहुँदा मन नलागी–नलागी पनि बच्चा जन्माउनुपर्ने बाध्यता रहेको छ । अनिच्छ्याइएको गर्भपतनलाई नै पटकपटक प्रयोग गर्दा त्यसले महिलाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिन्छ ।