काठमाडौँ/
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गरिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिने भएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
सभापति लामिछानेलाई म्याद थपका निम्ति अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा केन्द्रित भइरहेका छन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेको बयान भने पुरा भएको छ । लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए । उनको बयान ४५ पेज लामो रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।