काठमाडौं :
अभिनेता नाजिर हुसेनको अभिनित फिल्म ‘गुन्यो चोलो– कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले फिल्मको एउटा पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ९लाई रिलिज मिति पक्का गरेको हो।
पोस्टरमा नाजिरको होसै उडाउने लुक्स देख्न सकिन्छ। नाजिरको लुक्स र पोस्टरले नै फिल्मको कथावस्तु बोल्छ। नाजिर पहेलो रङ्गको वान पिसमा छन। उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ।
‘गुन्यो चोलो– उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका नाजिरलाई यस फिल्ममा ‘गुलाबी’ पात्रको भुमिका निवार्ह गरेको निर्माण पक्षको भनाई छ। समुन्द्र भट्टले निर्देशन गरेको यस फिल्ममा नाजिरको अलावा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।
अमेरिकी कम्पनी ’भिजन ईन्टरटेन्मेन्ट’ र ’दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको फिल्ममा पारलैंङ्गिकताको कथालाई उठान गरिएको निर्माण पक्षले जानकारी दिएको छ। फिल्मलाई निर्देशक समुन्द्र भट्ट र नाजिर हुसेनले पटकथा तथा संवाद लेखेका छन्।
नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्ममा नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी रहेको फिल्मका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन।
आलोक शुक्लाको छायांकन रहेको फिल्ममा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। त्यस्तै फिल्ममा पुष्कर लामा प्रोडक्सन हेडमा बसेर काम र राम भण्डारी क्रिएटिभ हेडमा छन।