सुचना, समाचार र मनोरन्जन

केटी हराएको सूचनाको ‘हेर्दै जाउँ’मा रोमान्टिक देखिए नाजिर र श्रृष्टि

काठमाडौं :

पोस्टप्रोडक्सनमा रहेको फिल्म ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार ‘हेर्दै जाउँ’ बोलको गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ भने शब्द तथा संगीत दीपेन्द्र गौचनको छ। गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा प्रस्तुत गर्न खोजेका छन्। जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित नरहेको भावमा गीत लेखिएको छ।

सपनामा देखेजस्तो हो कि विपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ ।

भिडियोमा फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेनले अभिनय गरेका छन्। दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ। नेपालका तराई क्षेत्रमा खिचिएको यो भिडियोमा देख्न सकिन्छ।

आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको संबादरहित टिजर केहि दिन अघि नै सार्वजनिक भएको थियो। टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो। यो गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ। गीतले धोका र बदलाको कथामा सिनेमा निर्माण भएको संकेत गरेको छ।

फिल्मलाई दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्। गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको फिल्मलाई अमर महर्जनले खिचेका छन्। उनी स्वयं निर्माता रहेको यो फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ। निर्देशक गौचनले ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक गरेका थिए। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.