सुचना, समाचार र मनोरन्जन

‘नम्बरी सुन’को ट्रेलर हेरेपछि सरोज खनाल भन्छन् : नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ

काठमाडौँ :

आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार निर्माण टिमले काठमाडौंको सिभिल मलस्थित फिल्म हलमा पत्रकारमाझ फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई देखाइएको छ । प्रेम र द्वन्द्वलाई स्थान दिइएको यो ट्रेलरमा उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ। ट्रेलर हेर्दा फिल्मकी नायिका नम्रता सापकोटाले उच्च वर्ग र नायक गौरव पहाडी तल्लो वर्गबीचको लडाई रहेको पाउन सकिन्छ।

राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन्। फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ। ट्रेलर कार्यक्रममा रोजेशन्द्र खड्गी,बुद्धि तामाङ,गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो। अभिनेत्री नम्रता सापकोटा,राजाराम पौडेल लगायत अन्य कलाकारको भने उपस्थिति देखिएन।

अभिनेता सरोज खनालले फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिए। उनले पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा गुटबन्दी रहेकोले जुन फिल्म हातमा पर्यो त्यहि खेल्न बाध्य भएको गुनासो पोखे। उनी भन्छन्,‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ । केही निर्देशकले, केही प्रोडक्शन कम्पनीले केही कलाकारसँग मात्र काम गर्ने चलन चल्दै आएको छ । यसैले, हाम्रो हातमा त जस्ता जस्ता फिल्म पर्छन्, ती फिल्मलाई न्याय दिने कोशिश गर्ने हो ।’


यता निर्देशक राजु गिरीले फिल्म राम्रो बनाउने प्रयास गरेको बताए। उनको एकै पटक दुई वटा फिल्म यहि महिनामा रिलिज हुने हुँदा आफु निकै व्यस्त भएको बताए। उनको धपेडी निकै रहेको देखिन्थ्यो।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ। सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ। निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.