सुचना, समाचार र मनोरन्जन

‘माया नगर’ की अभिनेत्री नन्दिता केसी आमा बन्न लागेको खुलासा

काठमाडौं :

अभिनेत्री नन्दिता केसी आमा बन्न लागेको खबर बाहिरिएको छ। उनले शनिबार फेसबुकमा श्रीमान् र आमा(बुबासँगको दुई तस्वीर सेअर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी हुन्।

अभिनेत्री केसीले सामाजिक सञ्जालमा ‘सून टू वी ममी’ लेखिएको टिसर्ट लगाएकी छन्। छेवैमा रहेका उनका श्रीमान् अरविन्द्र कटवालले निधारमा चुम्बन गर्दै प्रफुलित देखिएका छन्। नन्दिताले प्रश्नवाचक चिह्न लेखिएको एउटा पेपर हातमा लिएको देख्न सकिन्छ। अभिनेत्री केसीले आमाको बारेमा केहि हरफ शब्दहरु पनि खर्चिएकी छन्।

क्याप्सनमा उनले लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु। भगवानको आशीर्वाद र माता(पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौं।’

उनले आफुले सन्तान जन्माउने तयारीमा रहेको जानकारी दिएपछि उनका शुभचिन्तकदेखि सेलिब्रेटीहरूले बधाई दिइरहेका छन्। उनलाई बधाईको ओरइरो लागेको छ। नन्दिताले गत वर्षको फागुन १९ गते अरविन्द्रसँग लगनगाँठो कसेकी हुन्।लामो समयदेखि उनीहरु अमेरिका बसोबास गर्दै आएका छन्। नन्दिताले अमेरिकामा नै सन्तान जन्माउन लागेकी हुन्।

फिल्म ‘इन्द्रेणी’, ‘हामी तीन भाई’, ‘भगवान् सबैको’, ‘सपना’, ‘माया नगर’ लगायत तीन दर्जना फिल्ममा अभिनय गरेकी नन्दिता अमेरिका पुगेपछि फिल्म क्षेत्रमा सक्रिय छैनन्।

Leave A Reply

Your email address will not be published.