काठमाडौं :
मदन पुरस्कार विजेता कृति सेतो धरती मा आधारित नाटक यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। कान्तिपुर फिल्म एकेडेमी को प्रस्तुति रहेको नाटकमा अभिनेत्री बेनिशा हमालले मुख्य भुमिकामा अभिनय गर्दैछिन्। उनको यो रंगमञ्चमा डेब्यु हो। यसअघि उनले कुनै पनि नाटकमा अभिनय गरेकी थिइनन्।
नाटकमा निर्माताको रूपमा रेखा थापा जोडिएसँगै यसको चर्चा थप बढेको छ। सार्वजनिक पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धिताल को नाम उल्लेख छ। निर्देशक धितालले यसअघि ‘मीरा’ नाटक निर्देशन गरिसकेका छन्, जसबाट रेखा थापाले रंगमञ्च यात्रा सुरु गरेकी थिइन्। हाल नाटकको रिहर्सल जारी छ, जसमा ३० भन्दा बढी कलाकारहरूको सहभागिता रहेको जनाइएको छ।
लोकप्रिय उपन्यासमा आधारित भएकाले नाटकप्रति दर्शक तथा साहित्यिक क्षेत्रको चासो उच्च देखिएको छ। यसअघि एकेडेमीले ‘मीरा’ र शिरीषको फूल मा आधारित नाटक मञ्चन गरिसकेको छ। नाटक चैत २७ गतेदेखि वैशाख १९ गतेसम्म मञ्चन हुनेछ। बुधबार बाहेक दैनिक साँझ ५स्१५ बजे तथा शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १स्१५ बजे विशेष शो राखिएको छ।