सुचना, समाचार र मनोरन्जन

विद्यार्थीलाई शैक्षिक सामग्री र नगद सहयोग

के.आर. ढकाल/

अन्नपूर्ण गाउँपालिका वडा नं. ९ तिखेढुङ्गास्थित श्री भगवती माध्यमिक विद्यालयमा मंगलबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रस्टबाट विद्यार्थी तथा शिक्षकहरूलाई शैक्षिक सामग्री एवम् शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा ट्रष्टका संस्थापक रामबहादुर गुरुङ तथा मधु गुरुङले ग्रामीण भेगमा रहेको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा पढाइप्रति चासो बढाउन र शैक्षिक उपलब्धि सुधारका लागि आफूहरूले वि.सं. २०७२ देखि वार्षिक रूपमा निरन्तर सहयोग तथा पुरस्कार प्रदान गर्दै आएको बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीमध्य प्रत्येक कक्षाबाट बि ग्रेड वा सोभन्दा माथिल्लो ग्रेड ल्याई उत्कृष्ट हुने तिन जना विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो भने विद्यालयमा अध्ययनरत करिब १ सय ५० विद्यार्थी तथा कार्यरत १५ शिक्षकहरूलाई समेत शैक्षिक सामग्री सहयोग गरिएको थियो ।

वार्षिक मूल्याङ्कनका अतिरिक्त प्राथमिक तह तर्फ शैक्षिक सत्र २०७९ मा विद्यालयमा अधिक उपस्थिति भएकी कक्षा ४ की सोनी गुरुङ, उत्कृष्ट गृहकार्य गर्ने कक्षा २ का सौगात वि.क. र प्राथमिक तहतर्फ सर्वोकृष्ट विद्यार्थी अंकिता गुरुङलाई प्रमाणपत्र र नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा स्व. कमसार्की गुरुङ तथा स्व. सुनकुमारी गुरुङका साहिँला छोरा कुमबहादुर गुरुङले ग्रामीण भेगका विद्यार्थीहरूले पढ्ने चाहना हुँदाहुँदै पनि विभिन्न समस्याले पढ्न नपाएको अवस्थाप्रति चिन्तित हुँदै भगवती मा.वि.मा कक्षा १२ सम्मको पढाइ सुरु भएकोप्रति खुशी व्यक्त गरे । उनले भने, “विद्यार्थीले आफूले चाहेको विषय आफ्नै घरमा बसेर पढ्न पाउने वातावरण हुनुपर्छ । यसका लागि शिक्षाप्रेमी, समाजसेवी र सरकार एक भएर लागि पर्नुपर्छ ।”

आगामी वर्ष ट्रस्टले आफ्नो स्थापनाको दशौँ वर्ष मनाउन लागेको बताउँदै ट्रष्टका अध्यक्षले सन् २०२४ अक्टोबर १९ मा विशेष समारोहको आयोजना गर्ने बताउँदै विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरी पुरस्कृत हुन र अभिभावकको लगानीलाई सम्मान गर्न अनुरोध गरे । उनले भने, “मैले यो लगानी नितान्त मेरो खातामा भएको रकमबाट मेरा स्वर्गीय बुबा आमाको सम्मानमा गरेको हुँ । तपाईँहरूका अभिभावकले तपाईंहरूको उत्कृष्ट शिक्षाको लागि निरन्तर लगानी गरिरहनुभएको छ । मलाई आशा छ, तपाईं विद्यार्थीहरूले हाम्रो लगानीको कदर गर्दै आफ्नो भविष्य सुन्दर बनाउन लागि पर्नुहुनेछ ।”

ट्रस्टका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक चन्द्रकुमारी गुरुङको स्वागत मन्तव्यमा भएको उक्त कार्यक्रम विद्यालयका शिक्षक खेमबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.