सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अम्रिसोको भाउ बढेपछि किसान खुसी

सुनसरी /

यस वर्ष अम्रिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी भएका छन् । धरानमा रहेको कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसो प्रतिकेजी एक सय ५० रुपैयाँ मा किनबेच भइरहेको छ ।

गएको वर्ष यही समयमा प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। उनका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका प्रायजसो कृषक व्यावसायिक अम्रिसो खेतीमा आकर्षित भएका छन् । अम्रिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्रिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताउनुभयो । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्रिसो बिक्री हुने गरेको उनले जानकारी दिए । ओरालो र भिरालो ठाउँमा अम्रिसोको उत्पादन राम्रो हुने उनको भनाइ थियो ।

कुनै सयम बिक्री नभएर वस्तुचौपायालाई खुवाउने गरेकोमा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताउनुभयो । केही समय अगाडि प्रतिकेजी ९० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुने अम्रिसो अहिले बढेर एक सय ५० रुपैयाँसम्म पुगेको छ, उनले भन्नुभयो, उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।

IVF Big

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । जुन वर्ष अम्रिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ, उनले भने । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उनले बताए ।

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्यवृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्रिसो निकालेर बेच्न शुरु गरिएको व्यापारी राईले बताए । मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उनको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्रिसो खेतीतर्फ आकर्षित हुन।

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्रिसो खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्रिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उनले बताए ।

ुअम्रिसोलाई प्रशोधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ । व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छु, व्यवस्थापक भट्टराईले भन्नुभयो । यहाँ भारतीय व्यवसायी आफैँ आएर लैजाने गरेकाले बजारीकरणको समस्या नभएको उनले बताए ।

वर्षमा ४५ देखि ५० मेट्रिकटनसम्म अम्रिसो बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए। भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.