तनहुँ/
मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गतका स्थानीय तहले समग्र कोरिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिकग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो ।
गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएअनुरुप यस कोरिडोरमा सम्भाव्यता भएका पर्यटकीयस्थल प्रशस्त रहेकाले पहिचान र अध्ययनका लागि अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवम् मर्स्याङ्दी नदी करिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार कोरिडोरका पालिकामा पर्ने पर्यटकीय स्थानको अध्ययन गरी एक अर्को पालिकासँग समन्वय र प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।