काठमाडौँ/
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार चौथो खेलमा विजयी भएको छ । आज सोमवार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले हरायो ।
कोशीले दिएको ८५ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । एपीएफका लागि इन्दु वर्माले नट आउट ३६ रन बनाइन् । बलिङतर्फ कोशीकी एलिशा खडिया र निशा शाहले समान १ विकेट लिइन् ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ४१ रन बनाइन् । बलिङतर्फ एपीएफकी सोनु खड्का र करुणा भण्डारीले समान १ विकेट लिइन् ।
यो जितसँगै एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यसअघिका ३ वटै खेल जितेको कोशी ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।