सुचना, समाचार र मनोरन्जन

म्याग्दे खोलामा पुल निर्माण

तनहुँ/

तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर–४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण भएको छ । दुई वटा वडा जोड्ने मोटरेबल पुल निर्माण भएपछि स्थानीयबासिन्दा खुसी भएका छन् ।

विगतमा आवतजावतमा समस्या भए पनि अब सहज भएको भन्दै उनीहरुले खुसियालीमा नाचगान समेत गरेका छन् । गएको वर्ष भदौमा सम्झौता भएको पुल एक वर्षभित्र सम्पन्न गर्नेगरी माई कन्स्ट्रक्सन एण्ड बिल्डर्स पर्वतले निर्माणको ठेक्का पाएको थियो । सम्झौताअनुसार काम नसकिएपछि एक महिना म्याद थपेर निर्माण गरिएको हो ।

बर्खामा काम हुन नसक्दा केही ढिलाइ भए पनि अब निर्माण सकेर पुल सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताए । बाह्र मिटर लम्बाइको मोटरेबल पुलमा गाडीको आवतजावतमा सहज भएको थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले बताए ।

पुल बनेपछि बर्खामा पनि थर्पु बजारदेखि मनपाङसम्मको क्षेत्रमा सहजै गाडी गुड्न सक्ने भएका छन् । यसले गाउँमा उत्पादित कृषिउपज बजारसम्म लैजान सहज हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.