इलाम/
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मेहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माईजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन शुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गएको वर्ष लगाएका बिरुवा भर्खर सर्दैछ,उनले भने ।
जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गरेका छन । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको यो गाउँमा अहिले सुन्तला मासिएर एभोकाडोको खेतीले कब्जा जमाउन थालेको उहाँ बताउनुहुन्छ । सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती शुरु गरेका छौँ, एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन हुन्छु, उनले भने, एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्याङ्क छ ।ु
यहाँका प्रायजसो किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिनुभयो । उनी भन्छन, कम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गरेका छन। हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ, उनले भने।
जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गएको वर्ष चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष चार सय २२ दशमलव पाँच मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिए । गएको वर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको उनले बताए । उनका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । गएको वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ, उनले भने।
नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माईजोगमाईका खत्रीले बताउनुभयो । यो फलबाट किसानले मनग्ये आयआर्जन गर्न थालेका छन् । एक दशक मलेसिया बसेर स्वदेश फर्किनुभएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताए।
एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । शुरुमा तीन सय रुपैयाँ प्रतिकिलोमा बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा अहिले दुई सय रुपैयाँ प्रतिकिलोमा यसको खरिद बिक्री भइरहेको छ । व्यापारीको दुस्ख छैन, बगानमै आउँछन् र एकमुस्टमा किन्छन्, देवानले भने । अहिले इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताए। उनका अनुसार अहिले इलामसहित, झापा, सुनसरी काठमाण्डौलगायतका ठाउँमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो ।