सुचना, समाचार र मनोरन्जन

शुभसाईतमा दसैँ घरमा घटस्थापना गरियो

काठमाडौँ/

नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएको छ । यसै अवसर पारेर आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ। बिहान ११ बजेर २९ मिनेटको शुभसाईतमा दसैँ घरमा घटस्थापना गरिएको हो। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो।

दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो। घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। जौलाई औषधीय गुणले युक्त मानिन्छ। यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोध रहन सघाउ पुर्‍याउने विश्वास रही आएको छ।

Leave A Reply

Your email address will not be published.