वीरगञ्ज/
पर्साका किसान अहिले रासायनिक मल नपाएर भौतारिएका छन्। गहुँ उम्रिसकेकोले मल हाल्नुपर्ने आवश्यकता रहेको छ। गहुँ छरेपछि त्यसको २१ दिनपछि त्यसमा युरिया मल छर्नुपर्ने हुन्छ। तर, यतिबेला किसानले मल पाएका छैनन्।
उनीहरुले सरकारले वितरण गर्ने सहुलियत मूल्यको मल पाएका छैनन्। किसानहरु मलको लागि सहकारीदेखि सहर बजारसम्म धाइरहेका छन्। मल नपाएपछि पर्साका ग्रामीण भेगका किसानहरु भारतबाट मल ल्याएर गहुँ खेतीमा हाल्न बाध्य भएका छन्।
पर्साका ग्रामीण भेग ठोरी गाउँपालिका, जगनाथपुर, धोबिनी, कालिकामाईलगायतका पालिकाका किसान भारतीय सहरहरुबाट युरिया मल ल्याएर गहुँमा छर्न बध्य छन्।
अधिकांश किसानले मल पाउन नसक्दा गहुँमा युरिया मल हाल्नबाट वञ्चित भएको तथा जरुरी परेका किसानहरु भारतबाट ल्याएर युरिया मल हालेको पर्सा जगरनाथपुरका किसान समिम गदीले बताए।
भारतबाट मल ल्याउँदा प्रहरी प्रशासनले दुःख दिने गरेको छ। एक दुई बोरा मल ल्याउँदा किसानलाई दुःख नदिन प्रहरी प्रशासनलाई उनले आग्रह गरे।
सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङबाट सहकारीमार्फत किसानलाई अनुदानको मल उपलब्ध गराउने गरेको छ। साल्ट ट्रेडिङले सहकारीहरुलाई कोटाअनुसारको मल उपलब्ध गराउने गरेको छ। तर, किसान र सहकारीले भने मल नपाएको बताएका छन्।
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा रहेको रामरहिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिशंकर साहले मलको लागि दैनिकरुपमा किसानहरु सोध्न आइरहेको तर सहकारीमा मल नभएको बताए।
पहिले आफू कृषि सामाग्रीमा पुग्दा मल सहकारीहरुलाई दिइरहेको कम्पनीले बताएको किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम गदीले बताए ।तर,वास्तविक रुपमा किसानहरुले पर्याप्त मल नपाएको उनले जानकारी दिए। गदीले साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीका कर्मचारीहरुले मल पर्याप्त दिएको भनेर झुठो बोलिरहेको आरोप लगाए।
साल्ट ट्रेडिङ कम्पनी लिमिटेड वीरगञ्ज शाखाले भने आफूसित भएको मल कोटाअनुसार सहकारीहरुलाई उपल्बध गराउँदै आएको जानकारी दिएको छ।