काठमाडौँ/
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधवार प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ । अस्ति शनिवार नियुक्त भई हिजो आइतवार मात्रै शपथ लिनुभएका मुख्यमन्त्री कार्कीले हतार हतार आउँदो बुधवार नै विश्वासको मत लिन लागेका हुन । कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन। यो धारअनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण उनले बुधवार नै विश्वासको मत लिन लागेका हुन।
कांग्रेस नेता कार्कीले पार्टीमा विद्रोह गरेर एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन। उनले एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधवार कोशी प्रदेशसभा बैठक बोलाइएको छ ।