सुचना, समाचार र मनोरन्जन

वडाध्यक्ष सुवेदीले दिए विद्यार्थीलाई पोशाक

रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।

पोखरा /

कास्कीको रूपा–५, देउरालीका ५० विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् ।

सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । उनले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए ।

गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा समूह, विद्यालयलाई सहयोग, बिरामीको औषधी लगायत ७० भन्दा बढी योजनामा ७ लाख रुपियाँभन्दा बढी उनले खर्च गरेका थिए ।

चालु आर्थिक वर्षमा जनस्वास्थ्यमा ५० हजार, खेलकुद तथा युवा प्रोत्साहनमा १ लाख र विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत डेढ लाखभन्दा बढी रकम खर्च गरिसकेका छन् भने केही विद्यालयमा सहयोगको तयारी भइरहेको सुवेदीले जानकारी दिए ।

सुवेदीले राजनीतिलाई पेसाका रूपमा नभई समाजसेवाका रूपमा अघि बढाउनुपर्ने मान्यता आफ्नो रहेको बताउँदै जीविकोपार्जनका लागि जनप्रतिनिधिले पनि कुनै उत्पादनमूलक काम गर्नुपर्ने धारणा राखे । आफूले पाएको सबै रकम जनताकै सेवामा खर्च गर्ने उनले प्रतिबद्धता दोहोर्‍याए । ‘कुनै पनि गरिब जनता उपचारको अभावमा मर्नुनपरोस्,’ सुवदीले भने, ‘जनप्रतिनिधि भइञ्जेल सधैँ म जनताको दुःखमा साथमै रहनेछु ।’ उनले आफ्नो कामलाई आन्दोलनको संज्ञा दिँदै जनप्रतिनिधि जागिरे होइन भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

पोशाक वितरण कार्यक्रममा साविक रूपाकोट गाविसका पूर्व अध्यक्ष टीकाराम पगेनीले राजन जस्ता युवाको राजनीतिक चेतनासहितको कार्यशैलीले आशाको किरण देखा परेको बताए । नेकपा एमाले कास्की क्षेत्र नम्बर १ इन्चार्ज र गण्डकी प्रदेश सदस्यसमेत रहेका पगेनीले अबको विकासको मोडल उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिए ।

नेकपा एमाले गण्डकी प्रदेशका सदस्य विष्णु पुनले समृद्धिको अभियान राजन जस्ता त्यागी र सकारात्मक सोच भएका युवा नेताबाट मात्रै सफल हुन सक्ने धारणा राखे । जनताको सेवामा लाग्ने राजन र राजन जस्ता युवाहरूका पक्षमा आफू सधैँ लागिरहने पुनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हस्तकुमार श्रेष्ठले आफ्नो आम्दानी विद्यार्थीका लागि खर्चेर राजनले असल जनप्रतिनिधिको परिचय दिएको बताए । रूपाका विद्यालयमा मात्र नभई हरेक बस्ती र कुनामा पुगेर सेवा गर्दै आएका राजनबाट अन्य जनप्रतिनिधिले पनि पाठ सिक्नुपर्ने बताउँदै श्रेष्ठले विश्वशान्तिका विद्यार्थीका लागि गरेका सहयोगप्रति धन्यवाद दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिसागर अधिकारी, शिक्षक बाबुराम सुवेदी, राष्ट्रिय युवा संघ रूपा अध्यक्ष सुजन श्रेष्ठ, उपाध्यक्ष हिमाल गुरुङ, खेलकुद महासंघ, कास्की सदस्य खेम गुरुङ लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.