काठमाडौं /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन् ।
बैंक,बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन् ।
‘ यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने। गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए ।
‘यो सरकार कानुन अनुसार चल्ने, कानुनी मूल्य मान्यता अनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने ।
गठबन्धनको कारण देश बरबाद भएको ओलीले बताए । अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको उनले टिप्पणी गरे ।