काठमाडौं /
किर्तिपुर मैदानमा जारी त्रिदेशीय टि–२० सिरिजको आजको खेलमा नेपाल नेदरल्याण्डसँग २ रनले पराजित भएको छ । नेदरल्याण्डले दिएको १८५ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन मात्र बनाउन सक्यो ।
नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । कप्तान रोहित पौडेलले ५० रन आसिफ शेखले ३४, करण केसी र कुशल मल्लले समान ११ रन बनाए । नेदरल्याण्डका लागि रेलोफ भान डेर मेर्वे र सिब्राण्ड एंगलब्रेटले २–२ विकेट लिए । भिभियन किंग्मा, टिम भान डेर गुटेन र आर्यन दत्तले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको थियोे । नेदरल्याण्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए । सिब्राड एंगलब्रटले ४९, कप्तान स्कट एडवार्डसले ३३ र तेजा निदामनुरुले ३१ रन बनाए । नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।