काठमाडौं /
ब्याटिङ र बलिङ दुवैतर्फ कुशल भुर्तेलले सर्वोत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पपुआ न्यू गिनीलाई ८५ रनले हराउँदै हङकङ त्रिदेशीय टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो ।। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्का हाने ।
सन्दिप जोराले २६ बलमा ५६ रन बनाए । उनले ३ चौका र ४ छक्का हाने । विनोद भण्डारीले २७, विवेक यादवले १९, गुलशन झाले १५, लोकेश बमले १४ रन बनाए । पपुआ न्यू गिनीका लागि असद भालाले २ विकेट लिए । नोसाइना पोकना, जोन कारिको र नोर्मन भानुआले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको पपुआ न्यू गिनी १६.१ ओभरमा ११३ रनमै अलआउट भयो । हिरि हिरिले सर्वाधिक २८ रन बनाए । सेसे बाउले २१, टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । प्रतिस जिसीले २ विकेट लिए । आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ । जसको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।