पोखरा /
पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन–अवलोकन भ्रमणमा निस्केको छ ।
अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा रहेको भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष तथा भ्रमण संयोजक गोकर्ण कार्की,उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी,महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्यहरु प्रभा सुवेदी सुदीप प्रधानाङ्ग,मनोज श्रेष्ठ,लीलधर चपाइँ र प्रदीप राजभण्डारी रहेका छन् ।
भ्रमण संयोजक वरिष्ठ उपाध्यक्ष कार्कीका अनुसार बिहीबारबाट सुरु भएको अध्ययन–अवलोकन भ्रमण करिब एकहप्ताको हुनेछ । बिहीबार भ्रमण दलले भक्तपुर र धुलिखेल उद्योग वाणिज्य संघको अवलोकन तथा निजी क्षेत्रका एजेण्डाबारे अन्तरक्र्रिया सम्पन्न गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलको स्वागतमा आयोजित अन्तरक्र्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अमरेशचन्द्र वैदवारले देशव्यापि संयन्त्र रहेको महासंघले व्यवसायीबीच आत्मियता कायम गराउन महत्वपूर्ण कार्य गरेको बताए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रको मनोबल गिरेको मनोबल उकास्न महासंघले अझ बढी क्रियाशिलता बढाउनुपर्ने बताए । उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघले भोग्नुृपरेका समस्याबारे चर्चा गर्दै साझा प्रयासले मात्र यी समस्या समाधान हुने बताए । भक्तपुरसँग पोखरा उद्योग वाणिज्य संघको भगिनी सम्बन्ध रहेको र त्यो सम्बन्धलाई आपसी भ्रमण र सहयोग आदान–प्रदानले अझ बलियो बनाइने उनको भनाइ थियो ।
झत्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैया धौबन्जाले पोखरालाई पर्यटकीय नगरी घोषणा भएकोमा खुसी व्यक्त गर्दै भगिनी नगरसँग उद्यमशीलता विकासको लागि सहकार्य गर्ने बताइन् । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष युवकराज राजभण्डारी,वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापतिलगायतले मन्तव्य राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार जिल्ला– नगर उद्योग वाणिज्य संघहरुले भोग्नुपरेका तथा उद्यमशिलता र रोजगारी सिर्जनामा भएका नयाँ प्रयासहरुको जानकारी लिन भ्रमण कार्यक्रमको आयोजना गरिएको हो । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई पोखरा भ्रमणको निम्तो दिनु तथा पोखरा पर्यटन प्रवद्र्धनका गर्नु पनि भ्रमणको अर्को उदेश्य हो ।
धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजुले विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुले सम्पादन गरेका असल कामको सिको गर्नुपर्ने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघका गतिविधिबारे जानकारी दिँदै पर्यटनको क्षेत्रमा धुलिखेल र पोखराबीच सहकार्य हुनुपर्ने बताए । धुलिखेल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष समनकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महमासचिव अन्तकृष्ण श्रेष्ठले गरेका थिए ।