काठमाडौँ /
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदैछ। माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका कक्षा १० परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा शान्तिपूर्ण वातावरणमा भइरहेको बताए ।
अहिलेसम्म देशभर नै निकै सहज, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भइरहेको उनको भनाइ छ । कति विद्यार्थी एसईईमा सहभागी भए भन्ने तथ्याङ्क तत्कालै नआउने उनले बताए ।
‘कति विद्यार्थीले परीक्षा दिइरहेका छन् भन्ने ठ्याक्कै अहिले नै भन्न सकिने अवस्था छैन । ७७ वटै जिल्लाबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । केही समय लाग्छ होला,’ पौडेलले भने ।
यो वर्षको एसईईका लागि पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । अहिलेसम्म कुनै पनि ठाउँबाट अमर्यादित घटनाबारे जानकारी नआएको बताए ।
एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्रा छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ।
बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् एक लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन्। देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ।