सुचना, समाचार र मनोरन्जन

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

काठमाडौं /

नेपाल कम्युनिष्ट पार्टी {एमाले}का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास {जिडिआइ} का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताएका छन्।

Gokarna Karki

चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया {बिएफए}लाई बिहीबार नेपालका तर्फबाट सम्बोधन गर्दै उनले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ {ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ} अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताएको उनको सचिवालयले जनाएको छ।

उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी पनि दिए।

जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर-सम्बन्धलाई जोड दिएको प्रसंग उल्लेख गर्दै उनले भने, “एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन्।”

पूर्वअर्थमन्त्री पौडेलले भने, “चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ। पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौं। हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्नेगरी परियोजनाहरू अघि बढाउन तत्पर छौं।”

जिडिआइको दिगो र समतामूलक विकासका लक्ष हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरु स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उनले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तलाई भने दूर गर्न जरुरी रहेको बताए।

त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उनको धारणा थियो।

नेपालले बहुपक्षीयतालाई महत्व दिने र जिडिआई ढाँचा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उनले भने, “हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रवद्र्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौं। विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जिडिआइ एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त रहेको छ।”

बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्वपूर्ण अवसर दिएको उनको भनाइ छ। यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उनले बताए।

रासस /

Leave A Reply

Your email address will not be published.