सुचना, समाचार र मनोरन्जन
Sarangi

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

गलेश्वर/

उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमालको लोभलाग्दो दृश्य । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट ।  माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको मनमोहक स्थल बन्दै गएको छ ।

तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र बनेको ज्यामरुककोट बेनी नगरपालिका–२ मा पर्दछ । थापा र मल्लकालीन विरासत बोकेको ज्यामरुककोटमा अवस्थित ऐतिहासिक र पुरातात्विक महत्वलेयुक्त सम्पदाहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन् ।

समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब ६०० वर्ष पुरानो इतिहासको आँखी झ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदाहरू विकाससँग जोडिएका हुन् ।

पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार यहाँ मल्लकालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् ।

सदरमुकाम बेनीबजारबाट  छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिन प्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । यहाँबाट देखिने प्राकृतिक दृश्यावलोकन र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द झट्ट निस्कने गर्दछ ।

प्राकृतिक सुन्दरता, गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि ज्यामरुककोटको आकर्षक भनेको यहाँबाट देखिने प्राकृतिक दृश्य, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुङ्गेघर नै हुन् । उत्तरतर्फ आँखै अगाडी देखिने सेताम्ये हिमाल, बेनी र बागलुङको शहरी दृश्य, रत्नेचौर, पञ्चकोट, पञ्चासे, मल्लाज, पुलाचौर, ढोल्ठान, ताकम, राँखुलगायत मुस्ताङ र पर्वतका दर्जनौं ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।

यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार पोखराबाट ज्यामरुककोट घुम्न पुगेका विकास सिग्देलले यहाँका घर र प्राकृतिक सुन्दरता देख्दा मनै फुरुङ्ग भएको बताए । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । बेनीबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उनले भने, “यहाँको प्राकृतिक सौन्दर्य, ज्यामरुककोटको ऐतिहासिक महत्व र  स्थानीयको जनजीवन, रहनसहन, स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”

पछिल्लो समय ज्यामरुककोट घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय समाजसेवी एवम् व्यापारी भीमबहादुर पौडेलले बताए । उनका अनुसार वर्षाको समय भए पनि गाउँ उक्लने पर्यटकको सङ्ख्यामा कमी आएको छैन । बिदाका दिन त अझ बढी पर्यटकको भीडभाड हुने बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष कार्कीले बताए । “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उनले भने, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षाको समयमा पनि पाहुनाको कमी भएको छैन ।”

सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको अध्यक्ष कार्कीले बताए। बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै ज्यामरुककोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँसमेत खेल्न सकिने उनले बताए ।

पर्यटकहरुका लागि यहाँ होटल तथा होमस्टेहरु रहेका छन् । होटल र होमस्टेमा कोदोको ढिंडो, स्थानीय जातका कुखुराको मासु, गुन्द्रुक, भट्मासको अचार, सिस्नो र मासको दाल, वर्षाको समयमा निगुरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उनले बताए । यहाँको कोसेलीको रूपमा मुलाका चाना, गुन्द्रुक तथा मौसमअनुसार सिस्नो, निगुरो, टुसा तथा भाङ्ग्रो लैजान सकिन्छ ।

गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षाको समयमा समस्या हुने गरेको अध्यक्ष कार्कीले सुनाए । वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ ।

Leave A Reply

Your email address will not be published.