काठमाडौँ/
नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नहरुलाई आम माफी दिने गरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।
मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौँमा संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरुका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि बढ्ने बताएका हुन्।
प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले सो विधेयक संसदबाट पारित गराउने बताए। उनले मुलुकमा दण्डहिनताको अन्त्य हुने गरी विधेयकहरु अघि बढाउने विषयमा आफूहरुले गम्भीरतापूर्वक छलफल गर्ने दाबी गरे।
प्रमुख सचेतक लेखकले सो विधेयक संक्रमणकालीन न्यायसँग भने सम्बन्धित नभएको पनि स्पष्ट पारे। सशस्त्र द्वन्द्वकालका न्याय निरुपणका लागि भने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने उनको भनाइ थियो।