सुचना, समाचार र मनोरन्जन

दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा

काठमाडौँ/

दैनिक उपभोग्य वस्तुको भाउ बढ्न थालेपछि उपभोक्ता मारमा परेका छन् । बजारमा गोलभेडासँगै, चामल, जिरालगायत दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ ।

माग अनुसारको उत्पादन नहुँदा गोलभेडाको भाउ दिनहुँ बढ्दै गएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यापारीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएका छन् ।

२० किलो प्रतिबोरा चामलको भाउ तीन सय रुपैयाँसम्म बढेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ ।

तर, पनि सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेको छैन । भारतको चामल निर्यात बन्देजको बहानामा नेपाली बजारमा अस्वभाविक मूल्य बढाएको भन्दै विरोध भइरहेको छ ।

यस्तै, बजारमा जीराको भाउ समेत अचाक्ली बढेको छ । तीन महिना पहिला आठ सय प्रतिकिलोमा पाइने जीरा अहिले एक हजार चार सय रुपैयाँसम्म पुगेको छ । भारतमा जीरा उत्पादन कम भएका कारण नेपालमा त्यसले असर गरेको व्यापारी बताउँछन् ।

त्यस्तै, बजारमा गोलभेडाको भाउ पनि दिनहुँ बढिरहेको छ । काठमाण्डौको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज थोक बजारमा नै ठूलो गोलभेडा किलोको एक सय ८० रुपैयाँसम्म पुगेको छ ।

यस्तै, सानो गोलभेडा किलोको ६५ देखि ७५ रुपैयाँ र टनेलको सानो गोलभेडा ८० रुपैयाँदेखि ९५ रुपैयाँ थोक मूल्यमा पुगेको छ । यो थोक मूल्य हो ।

उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भाउको दोब्बर तेब्बर महँगो पर्छ । गोलभेडाको भाउ बढ्नुमा अफसिजन र माग भन्दा कम उत्पादन हुनु नै कारण रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

अहिले भारतमा पनि गोलभेडाको भाउ बढेको छ । यसले गर्दा भारतबाट गोलभेडा भित्रिएको छैन । बरु नेपालबाट केही व्यापारीले भारतमा बिक्रि गरिरहेका छन् ।

गएको असार ३ गते किलोको पाँच रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाडौँको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा फालेर विरोध गरेका थिए ।

तर, अहिले भने किसानले खेतबारीमै किलोको ७५ देखि ८० रुपैयाँसम्म पाइरहेका छन् । गोलभेडाको मूल्य बढ्न थालेपछि किसान उत्साहित भएका छन् । तर, उपभोक्ता भने महँगीको मारमा परेका छन्।

Leave A Reply

Your email address will not be published.