सुचना, समाचार र मनोरन्जन

खहरे खोला मिचेर बनेका घरटहरा भत्काउन गएको टोली र स्थानीयबीच झडप

काठमाडौँ/

काठमाडौँ महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । आज बिहीवार महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोला मिचेर बनेका भन्दै घरटहरा भत्काउन डोजरसहित गएपछि स्थानीय र नगर प्रहरीबीच झडप भएको हो ।

बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डीएसपी मीनबहादुर थापाले बताए । स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिकाका स्थानीयले भने वर्षाको समयमा डोजर आतङ्क गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार काठमाडौँ महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमानाबारे पहिलेदेखि नै केही विवाद थियो। दुवै पक्षका वडाध्यक्षहरूबीच समन्वय भइरहेका बेला एक्कासी महानगरपालिकाको डोजर पुगेको प्रवक्ता भट्टराईले बताए । तर महानगर प्रहरी बलका निरीक्षक ईश्वर वाग्लेले भने बूढानीलकण्ठका मेयरसँग समन्वयन गरेरै डोजर गएको बताएका छन।

Leave A Reply

Your email address will not be published.