पोखरा/
राष्ट्रिय स्वतन्त्र पार्टी मिस २०८४ को तयारीमा रहेको रास्वपाका केन्द्रिय उपसभापति डिपी अर्यालले बताएका छन् । शुक्रबार पोखरामा पत्रकारसँग कुरा गर्दै उनले नेपाललाई पूर्णता दिने उद्देश्यका साथ रास्वपा लागिरहेको बताए । गण्डकी प्रदेशको आवश्यकता परिपूर्ति गर्ने गरी यहाँका कार्यकर्ताहरुलाई प्रशिक्षण गराउने योजनाका साथ कार्यक्रम तय भएको उनले उल्लेख गरे ।
रास्वपा सदनबाट नै समस्याको समाधान हुनुपर्छ भन्ने विषयमा केन्द्रित भएको उनले बताए । उनले भने, ‘रास्वपा सदन अवरुद्ध गर्न हुँदैन भन्ने मानसिकता राखेर हिँडेको पार्टी हो । सदनबाट नै हरेक समस्याको समाधान हुनुपर्ने धारणा हाम्रो हो ।’
उनले कुनै एउटा दलका कारण सदन अवरुद्ध गर्न नहुने बताए । उनले धुलो लागेर बसेका काण्डैकाण्डका फाइलहरुको धुलो टकटकाउने गरी रास्वपा अगाडि बढेको बताए । नेतृृत्वमा नपुगेसम्म प्रतिपक्षमा बसेर मात्रै आफुले चाहेको नेपाल बनाउन नसक्ने भन्दै अहिले २०८४ को आमनिर्वाचनकै तयारीमा रहेको भनाई उनको छ ।
सदनलाई सदन जस्तो बनाउने कोसिस रास्वपाकै कारण भएको दाबी उनले गरे । स्थानीय तहलाई अधिकारमा खुम्च्याउन नहुने भनाई उनको छ । प्रदेश संरचनाको अहिलेको मोडालिटी ठीक नभएको तर्क उनले राखे । पद जोगाउनकै लागि रास्वपाले विद्यान संशोधन नगर्ने र प्रत्येक दुई वर्ष नेतृत्व परिवर्तन गर्ने विषयमा पार्टी प्रष्ट भएको उनले बताए ।
सामाजिक संजाललाई नै प्रयोग गरेर सामाजिक रुपान्तरणमा रास्वपाले नयाँ आयाम थप्ने विश्वास उनको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम हुँदैछ ।
२०८४ को आमनिर्वाचनलाई लक्षित गर्दै रास्वपाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आज र भोली दुई दिने प्रशिक्षण कार्यक्रमका लागि प्रदेशका ११ वटै जिल्लाका कार्यकर्ताहरु पोखरामा छन् ।
पहिलो दिन केन्द्रिय प्रशिक्षण विभाग अनिल केशरी शाह, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रिय संगठन विभागका सचिव शंकर श्रेष्ठ, केन्द्रिय प्रशिक्षण विभाग सचिव कमल सुवेदी, केन्द्रिय सदस्य एवम् विभागीय प्रमुख विपिन कुमार आचार्य र प्रतिनिधि सभा सदस्य डा।तोसिमा कार्कीले प्रशिक्षण दिइनेछन् ।
दोस्रो दिन साउन २७ गते शनिबार प्रतिनिधि सभा सदस्य गणेश पराजुली, प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले, प्रतिनिधि सभा सदस्य शिशिर खनाल, प्रमुख अनुशासन विभाग डा। भरत देवकोटा, केन्द्रिय सदस्य मेघ आले, प्रमुख सचेतक सन्तोष परियार, महामन्त्री तथा प्रवक्ता डा।मुकुल ढकालले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । कार्यक्रमको समापन भने रास्वपाका सभापति रवि लामिछानेले गर्नेछन् ।