सुचना, समाचार र मनोरन्जन

पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाका लागि जाग्यो पोखरा

पोखरा/
पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाका लागि पोखरा जागेको छ । आइतबार पोखरेलीहरु पृथ्वीचोक ओर्लिएका छन् । झरीको समयमा पनि रेनकोट ओडेर पोखरेलीले ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, मेयर तिमी कुन देशको ?, राष्ट्र निर्माताको सम्मान गर, प्रधानमन्त्री तिमी कुन देशको?, इतिहास मेट्न पाइदैन, राष्ट्र निर्माता नमान्ने कसरी नेपाली ? , एक कदम एक आवाज एकीकरणका लागि’ लगायतको नारा लेखिएको प्लेकार्ड सहित उभिएका हुन् ।

उनीहरु सबैको माग पृथ्वीचोकबाट उठाइएको पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको हो । उक्त कार्यक्रममा बोल्दै युवा नेता अरुण गिरीले पृथ्वीनारायण शाहको शालिक हटाएर इतिहास मेट्न खोजिरहेको आरोप लगाएका छन् । शालिक हटाएर पोखराको ट्राफिक व्यवस्थापनमा कुनै असर नपर्ने भनाई उनको छ । उनले शालिक हटाएर गर्न खोजिएको स्टण्डबाजी राजनीतिले पोखराको ऐतिहासिक पद्धतिमा नै प्रश्न खडा गरेको उल्लेख गरे ।

‘ पुर्नस्थापनाको आन्दोलन कार्यक्रम शुरुवात हो । शान्तिपूर्ण रुपमा नै हामीले आन्दोलन गरेका छौं । महानगरले मागको सम्बोधन नगरी पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना नगरे आन्दोलनले विस्तार रुप लिनेछ ।’, उनले भने ।

लखन थापा प्रति कुनै पनि नकरात्मक टिप्पणी नभएको र उस्तै सम्मान रहेको गिरीको भनाई छ । सरकार आफै मतियार बनी नेपाली नेपाली बीच विवाद सिर्जना गर्न खोजिरहेको उनले बताए । उनका अनुसार पृथ्वीचोक हिजो पनि थियो, आज पनि हो र भोली पनि रहिरहनेछ ।

अभियान्ता दीपक पौडेलले शालिकको विषयमा स्टण्डबाजी गरी सरकार लाचार बनिरहेको बताए । उनले महानगरले तत्काल निर्णय सच्याई इतिहास जोगाउन पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्नुपर्ने विषयलाई जोड दिएका छन् ।

कृष्ण पौडेलले अहिलेको पुस्ताले मात्र नभई पछि आउने पुस्ताले पनि इतिहास बुझ्न पाउनुपर्ने बताए । जंगलको कुनै कुनामा लगेर राष्ट्रनिर्माताको शालिक राख्दा अपमान हुने भन्दै उनले पुर्नस्थापनाको लागि जोडदार माग गरेका छन् ।

पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाका लागि सामाजिक संजाल फेसबुक मार्फत पनि दबाब दिइएको छ । छोटो समयमा नै शालिक पुर्नस्थापना सम्बन्धि विषयले चर्चा पाइरहेको छ ।

Leave A Reply

Your email address will not be published.