काठमाडौँ/
नेकपा एमालेका सांसदहरुले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै बस्न सकेन ।
बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरु एमाले सांसदको प्रतिक्षमा पौने २ बजेसम्म बसेका थिए । तर त्यसबेला सम्म पनि एमाले सांसद नपुगेपछि बैठक स्थगित भएको समितिका जेष्ठ सदस्य समेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिए ।
यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताइसकेका थिए ।
सभापतिको हैसियतमा रहेका केसीले कोरम नपुगेकाले बैठक स्थगित भएको बताए । उनले लेखा समितिमात्रै नभएर सवै समितिले सभापति पाउनुपर्छ भन्नेमा सवैको एक मत रहेको बताए । आजको समितिको बैठकमा बेरुजू सम्परीक्षणबारे छलफलको विषय थियो ।