सुचना, समाचार र मनोरन्जन
Sarangi

चिनियाँ किसानले काटिएको धानको गाँजबाट पुनः धान फलाए

एजेन्सी/
पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् । रेटुन विधि अपनाएर एक पटक रोपेको धानबाट दुई पटक उत्पादन लिन सकिने बताइएको हो ।

किसानले परम्परागत रूपमा ऊखु र केरामा यो विधि अपनाएको पाइएको छ । रेटुन विधि अपनाएर उत्पादनलाई दोब्बर बनाउन सकिने उनीहरूको भनाइ छ ।

विज्ञहरूका अनुसार रेटुन विधिले धान रोप्ने एउटा राम्रो मोडल तयार भएको छ । अब धान बाली पहिलो उत्पादन दिएर छोडिएको परालसहितको धानको गाँजबाट फेरि उम्रन सक्षम हुन्छ । जियाङ्सी प्रान्तको पोयाङ काउन्टीमा परीक्षणका लागि लगाइएको धान खेतमा एक पटक धान काटेपछि फेरि त्यसलाई उम्रन दिइएको थियो । माटोको बनावटअनुसार फरक–फरक रूपमा छनोट गरिएको खेतमा विज्ञहरूले परीक्षण गरेका थिए ।

पोयाङ काउन्टीका किसान सियाङ जोङयुले रेटुन विधिअनुसार रोपिएको धानले किसानको समय, पैसा बचत गरेको र उत्पादन पनि दोब्बर भएको बताउनुभयो । उनले भने, ‘रेटुन धान सिजनमा दुई पटक काट्न सकिन्छ, जसले किसानको समय र पैसाको बचत गर्छ ।’

जियाङ्सी प्रान्तमा रेटुन विधिबाट धान रोप्ने क्षेत्रफल एक लाख ३४ हजार हेक्टर पुगेको बताइएको छ । प्रान्तीय कृषि विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ता शाओ काइहोङले प्रविधिको विकाससँगै यस विधिबाट लागाइएको बालीले समग्र अन्न उत्पादनमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बताए ।

रेटुन एक कृषि विधि हो जसमा लगाइएको बालीमा एक पटक अन्न उत्पादन गरिसकेपछि त्यसको परालको गाँजबाट पुनः उत्पादन लिन सकिनेछ । जस्तै– उखुको प्रारम्भिक उत्पादन लिएपछि पनि बाँकी रहेको भागबाट पुनः उत्पादन गरिन्छ । यसले समय र श्रमको बचत हुन्छ ।

Leave A Reply

Your email address will not be published.