सुचना, समाचार र मनोरन्जन

युसेपको लापरबाही र प्रशासनको उदासीनताका कारण बाल सुधार गृहमा मृत्यु भएको इन्सेकको निष्कर्ष

काठमाडौँ/

भक्तपुरको बाल सुधार गृहमा एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरबाही र प्रशासनको उदासीनताका कारण भएको इन्सेकले जनएको छ ।

इन्सेकको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले भदौ १५ गते जारी गरेको प्रतिवेदनमा सो कुरा औँल्याइएको हो ।

सुधार गृह प्रशासनको बेवास्ताका कारण समयमै उपचार नपाउँदा १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । ‘होस्टल वार्डेनसँग औषधि मागेको र वार्डेनले निको नामको औषधि दिएर पठाएको र ०८० भदौ ३ गते ६ बजेतिर बालक अचेत अवस्थामा फेला परेपछि तुरुन्तै मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा लगिएको बालबालिकाले बताए,’ प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार मुद्दामा बाल सुधार गृहमा थुनामा रहेका मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ०८० भदौ ३ गते बिहान ६ बजेतिर सुधार गृहमा मृत्यु भएको थियो । ज्वरो र पिलोका कारण बिरामी भएका बस्नेतलाई समयमा उपचारका लागि अस्पताल नलगिएका कारण मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

बालकलाई नागरिक सामुदायिक अस्पतालमा उपचारका लागि लग्दै गर्दा बाटोमा नै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.