सुचना, समाचार र मनोरन्जन

अगस्टमा मात्रै ६७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

काठमाडौँ/

गएको अगस्ट महिनामा ६७ हजार एक सय ५३ जना विदेशी पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको अगस्ट महिनाको भन्दा झन्डै २६ हजार जनाले धेरै हो ।

सन् २०२२ को अगस्ट महिनामा ४१ हजार तीन सय चार जना विदेशी पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२१ मा छ हजार ९३ जना र सन् २०२० मा दुई सय ६७ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० र २१ मा कोरोना महामारीका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको हो । कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०१९ को तुलनामा यो वर्ष झन्डै ९१ प्रतिशत पर्यटक आएका छन् । विश्वव्यापी आर्थिक मन्दी र रुस–युक्रेन युद्धका बीच पनि कोरोना महामारीले थलिएको पर्यटन व्यवसायको पुनरोत्थान अन्तिम चरणमा पुगेको नेपाल पर्यटक बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।

गएको अगस्ट महिनामा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २६ हजार छ सय ६५ जना रहेका छन् । यस्तै चीनबाट पाँच हजार २७ जना र अमेरिकाबाट चार हजार छ सय २९ जना आएका छन् ।

Leave A Reply

Your email address will not be published.