सुचना, समाचार र मनोरन्जन
Sarangi

म्याग्दीको चिमखोला–घ्यासीखर्क सडक साढे दुई महिनापछि सञ्चालनमा

म्याग्दी/

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक झन्डै साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले वर्षा नरोकिँदा सडक सञ्चालन हुनसकेको थिएन ।

वर्षा कम हुँदै गएपछि अवरुद्ध भएको सडकलाई यस क्षेत्रमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजनाको डोजर परिचालन गरी मर्मत गरेर अस्थायीरूपमा गाडी आवतजावत गर्न मिल्ने बनाइएको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए ।

पहिरोमा सडकको ‘ट्रयाक’ बनाइएकाले वर्षा हुँदा पहिरो र ढुङ्गा खस्ने जोखिम रहेकाले यात्रु, नागरिक र गाडी चालकलाई सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । चिमखोला र कुइनेमङ्गले क्षेत्रमा निर्माणाधीन तुदी पावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट मङ्गले, अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिको ठूलोखोला जलविद्युत् आयोजनाले लगातार पाँच दिनसम्म चिमखोला र गौडामुनीतर्फबाट दुईवटा डोजर परिचालन गरेर पहिरो हटाएका हुन् ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा कुइनेमङ्गले क्षेत्रमा गाडी रोकिएका थिए । सडक अवरुद्ध हुँदा कुइनेमङ्गलेका स्थानीय सडक सञ्जालको सम्पर्कबाट विच्छेद भएका थिए भने स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो ।

Leave A Reply

Your email address will not be published.