पोखरा/
शुक्ला साहित्य प्रतिष्ठान पोखराले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्षको कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिए ।
शनिवार विहान १० वजेदेखि स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई भव्य र व्यवस्थित वनाउन कुनै कसर वाँकी नराखिएको संयोजक दुर्गादेवी वस्नेतले वताए। उनका अनुसार प्रतियोगिताका लागी गठित विभिन्न उपसमितिले आ आफना जिम्माका काम पुरा गरेका छन् ।
प्रतियोगिताका लागी विभिन्न व्यवसायिक घराना तथा संघ संस्था, धार्मिक व्यक्तिले कला संस्कृति जर्गेनाका लागी खुलेर आर्थिक सहयोग गरेको आथिर्क उपसमितिका संयोजक कुल व. खत्रीले वताए । प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा, वाग्लुङ, लम्जुङ लगायतका जिल्लावाट पनि भजन टोली सहभागी हुने र विभिन्न जिल्लाका २२ टोलीले सहभागिताको लागी नाम दर्ता गरेको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख, दितियले ७५ हजार, तृतियले ५० हजार, सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधी सभाका सदस्य एवं कास्की क्षेत्र नं २ का सासंद विद्या भट्टराईले गर्नु हुने छ ।
भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उदेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक वस्नेतले वताए। प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने वताईएको छ । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।