सुचना, समाचार र मनोरन्जन
Sarangi

कवि महेन्द्रकुमार मल्लसँग एक साँझ सम्पन्न

पोखरा/

नेपाली लेखक संघ, गण्डकीको आयोजनामा सुर्खेतका ‘कवि महेन्द्रकुमार मल्लसँग एक साँझ’ कार्यक्रम सम्पन्न भएको छ । रिडर्स कर्नरको हलमा सम्पन्न कार्यक्रममा कवि मल्लले आफ्नो जीवनमा भोगेका विभिन्न अनुभव र अनुभूति पस्केका थिए । सो कला कलाका लागि वा कला जीवनका लागि भन्ने कुरा निकै लामो समयदेखि बहसमा रहेको बताउँदै जीवनको प्रतिबिम्ब नउतारेको कला र कला नभएको जीवन दुवैको अर्थ नरहेको उल्लेख गर्दै समाजका लागि कलाको रङ भरेर सिर्जना पस्कन सकेमा मात्रै शक्तिशाली सिर्जना पस्कन सकिने धारणा व्यक्त गरे ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रारसमेत रहेका उनले विश्वविद्यालयको खस्कँदो साखबारे चिन्ता व्यक्त गरे । नेपालमै दर्जनभन्दा बढी विश्वविद्यालय भएको अवस्थामा उच्च शिक्षा अध्ययन गर्नका लागि लाखौँ युवा विदेशिनु विश्वविद्यालय र सिङ्गै देशको शिक्षानीति असफल भएको भन्दै शैक्षिक क्षेत्रमा लाग्ने सबैले आत्मालोचना गरेर सुध्रिनुपर्ने बताए । विश्वविद्यालयबाहिर रहेको विद्वत्वर्गले पनि यस विषयमा दबाब दिनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कर्णालीमा जन्मेर देशको शिक्षा, साहित्य र सिङ्गै देशलाई मुटुमा राखेर हिँडेको एक बौद्धिक व्यक्तित्वलाई स्वागत गर्न पाउँदा गर्व महसुस भएको सुनाए । उनले डा. मल्लको कवित्वका बारेमा पनि चर्चा गरे । मल्लका लामा कविता बढी रहेतापनि लामा कविताका तुलनामा छोटा कविता बढी शक्तिशाली भएको निष्कर्ष अधिकारीको थियो ।

नेपाली जनजीवनका विविध आयाम र विश्वका अनेकन आयामलाई एउटै कवितामा उनेर बौद्धिक कविता रचना गर्नु मल्लको मूल काव्यिक विशेषता रहेको बताए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल गजल मञ्च, सुर्खेतका अध्यक्ष धिरेन अनुपम र महासचिव पहल असिमले आआफ्ना गजल सुनाएका थिए । साथै दीपक समीप, रीता अधिकारी ‘ऋतु’, प्राञ्जल, श्रीराम अधिकारी ‘गोर्जे’लगायतले आआफ्ना रचना प्रस्तुत गरेका थिए । डा. ईश्वरमणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मण थापाले व्यक्त गरेका थिए भने सञ्चालन महासचिव सञ्जीव पौडेलले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.