सुचना, समाचार र मनोरन्जन
Sarangi

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिन्छ: अर्थमन्त्री महत

काठमाडौँ/

अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो देशसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन ।

काठमाडौमा आज शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री महतले तेस्रो देशमा सामान आयातरनिर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिए।

जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई उद्धृत गर्दै महासेठले जानकारी दिए ।

‘अर्थमन्त्रीज्यूसँग जलेश्वर भन्सार नाकाको स्तरोन्नति, मधेसका व्यापारी व्यवसायीका समस्या, प्रदेश राजधानी जनकपुरमा चलिरहेको रेलबाट लिन सकिने व्यापारिक लाभका विषयमा समेत कुराकानी भएको छ’, महासेठले भन्नुभयो, ‘यस विषयमा फेरि दुवै पक्ष छलफलमा जुट्ने समझदारी छ । आशा छ उहाँले निजी क्षेत्रका चिन्ता, चासो र मधेसमा व्यापारिक गतिविधि बढाउन आवश्यक काम गर्न सहयोग गर्नेछन ।’

सङ्घका महासचिव मनोजकुमार सिंहले अहिले तेस्रो देशबाट आउने मालसामान मधेसका लागि वीरगञ्जमार्फत आउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढ्न गई मालसामानको मूल्यसमेत बढ्न गएकाले जलेश्वर उत्तम विकल्प भएका बारेमा जानकारी गराएको बताए।

‘अहिले भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाण्डौसम्म मालसामान लैजाँदा एक हजार एक सय १९ किमी दूरी पार गर्नुपर्नेमा जलेश्वरबाट आउँदा झन्डै दुई सय ५० किमी दूरी कम हुनेछ’, महासचिव साहले भन्नुभयो, ‘यसले यातायातको दूरी कम भई मूल्यमा पनि प्रभाव पर्ने विषयमा अर्थमन्त्रीज्यूलाई लिखतरूपमै जानकारी गराएका छौँ । आशा छ सकारात्मक निर्णय हुनेछ ।’

भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, सम्सतीपुर साहरघाट हुँदै भिठामोड, जलेश्वर भन्सार कार्यालयबाट बर्दिबास, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाण्डौसम्मको दूरी आठ सय ८१ किमी हुँदा दुई सय ३८ किमी दूरी छोटिने सङ्घको भनाइ छ ।

सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘जलेश्वर भन्सार नाकाबाट रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, गाईघाट, उदयपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौसम्म मालसामान पठाउँदा मूल्यमा अत्यधिक कमी आउनसक्ने हुनाले महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई तेस्रो देशबाट आउने मालसामान आयातरनिर्यात गर्ने मुख्य नाकाका रूपमा स्थापित गरिदिन अनुरोध छ ।’

यसका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रेल्वे सेवा सञ्चालन भइरहेकाले त्यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष महासेठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.