सुचना, समाचार र मनोरन्जन
Sarangi

पर्यटक बोलाउन पोखरेली व्यवसायी सिलगुडी जाने

पोखरा/

पोखरेली व्यवसायी पर्यटक बोलाउँदै छिमेकी मुलुक भारतको सिलगुडी जाने भएका छन् । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको नेतृत्वमा व्यवसायी सबै मौसमका लागि पोखरा घुम्न उपयुक्त छ भन्ने सन्देश बोकेर पर्यटक बोलाउन शनिबार सिलगुडी जान लागेका हुन् ।

सिलगुडीमा शनिबारबाटै सातौं बंगाल ट्राभल मार्ट हुँदैछ । मार्टमा पोखराको सम्भावना र महत्वसहितको प्रचार गर्न स्टल नै राखिने छ । ‘पोखराको पर्यटकीय गन्तव्य, यहाँको महत्व, सांस्कृतिक तथा धार्मिक सम्पदाबारे मार्टमा जानकारी दिने छौं । पर्यटन व्यापार र व्यवसाय प्रवद्र्धनमा सहभागी हुने छौं,’ नाट्टा गण्डकी अध्यक्ष हरिराम अधिकारीले भने, ‘मार्टमा भारतसहित भुटान, बंगलादेशका व्यवसायीलाई पोखरा घुम्न आउन निम्ति दिन्छौं ।’

भारतीय मुद्रा सटही नभएर दुख पाएको गुनासो पर्यटकले गरेका थिए । अहिले पोखरामा त्यो समस्या रहँदैन, भारतीय मुद्रा पनि चल्ने र ५ सय नोट चलाउन पनि सरकारले नै नीतिगत पहल गरिरहेको सन्देश दिने अधिकारीले बताए ।

स्थलमार्ग हुँदै जाँदा सिलगुडी पोखराबाट जम्मा ६ सय ३० किलोमिटरमात्र रहेकोले त्यहाँबाट छुट्टी मनाउन सिधै पोखरा आउने वातावरण बनाउन अनुरोध गरिने उनको भनाइ छ ।

‘अहिले त्यहाँबाट अन्य शहरमा जुन प्याकेज पठाइरहेका छन्, त्योे प्याकेज पोखरामा पठाउन अनुरोध गर्ने छौं । पोखरा अथाह सम्भावना र महत्वको सहर होे भन्ने बुझाउँछौं,’ अधिकारीले भने, ‘पोखरा भएर जाने मुक्तिनाथजस्ता महत्वपूर्ण तीर्थस्थलबारे पनि प्रचार गर्छौं ।’

इस्टर्न हिमालयन ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनले सातौं ‘बंगाल ट्राभल मार्ट’ सुरु गर्न लागेको हो । नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन व्यवसायीबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सिलगुडीमा बंगाल ट्राभल मार्ट आयोजना गरिएको हो ।

अफगानिस्तानदेखि भारतको उत्तरपूर्वी राज्य भएर भुटानसम्म फैलिएको मनमोहक हिमश्रृंखलामा संयुक्त रुपमा पर्यटनको विकासका लागि साझा नीति बनाउनु मार्टको मुख्य उद्देश्य हो । इस्ट हिमालयन ट्राभल एण्ड टुर अपरेटर्स एसोसिएसनले कोरोनापछि पर्यटन व्यवसायलाई पुनः ट्रयाकमा ल्याउने प्रयास गरिरहेको र त्यही मञ्चमबाट पर्यटकलाई पोखरा बोलाउने कार्यक्रम तय भएको छ ।

पोखराबाट १५ जनाको टोली शनिबार बिहान सिलगुडी प्रस्थान गर्ने छ । पोखरा महानगर पालिकाले प्रवद्र्धनमा सघाउ पु¥याएको र अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि भद्रपुर हुँदै पोखरा आइपुग्ने वातावरण पनि नियमित हुन सक्ने महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

बुद्ध एयरले केही महिनाअघि पोखरा–भद्रपुर उडान थालेको थियो । तर, पर्याप्त पर्यटक नभएपछि मौसकका कारण देखाउँदै उडान बन्द भएको थियो । पूर्वी नाकाबाट भद्रपुर हुँदै सिधै पोखरा आउने पर्यटकको संख्या बढ्ने हो भने फेरि नियमित उडान भर्न सहयोग पुग्ने पोखरेली व्यवसायीको भनाइ छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले चाडवाड नजिकिइसक्दा पनि अझै रौनक सुरु भइनसकेकाले यो मार्ट पर्यटक बोलाउने उपयुक्त थलो बन्ने बताए ।

Leave A Reply

Your email address will not be published.