सुचना, समाचार र मनोरन्जन

हेभी इक्यूपमेण्ट व्यवसायीको गुनासो ‘काम छैन, समयमा भुक्तानी पाइँदैन’

पोखरा/

निर्माण कार्यमा प्रयोग हुने ठूला मेसिनहरु महँगा हुन्छन् । एक करोड रुपैयाँभन्दा बढी मूल्यका ती मेसिन किनेर व्यवसाय गर्न जो–कोहीले सक्दैन । निर्माण कार्यले गति लिँदा मेसिन संचालकहरुले काम पनि राम्रै पाउँछन् । तर, महँगा मेसिन किनेर व्यवसाय गर्न भने सजिलो नभएको व्यवसायीहरुले जिकिर गरेका छन् । उनीहरुले समयमा भुक्तानी नपाउने र ठेकेदारले आफ्नै मेसिनबाट काम गर्ने प्रवृत्तिका कारण यो व्यवसाय चौपट भएको धारणा राखेका छन् ।

कास्की हेभी इक्यूपमेण्ट व्यवसायी संघ,पोखराले आयोजना गरेको प्रशिक्षण एवं अन्तक्र्रियामा बोल्दै नेपाल हेभी इक्यूमेण्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले ठूलो लगानीमा संचालित व्यवसायीहरुलाई राज्यले संरक्षण नगरेको जिकिर गरे । राष्ट्रको भौतिक निर्माणमा योगदान पु¥याउने व्यवसायीहरुले वर्षभर काम नपाउने र पाए पनि भुक्तानीमा समस्या आइरहेको उनको भनाइ थियो ।

कार्यक्रम तथा कास्की हेभी इक्यूपमेण्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइरालाले काम गर्ने तर भुक्तानी नपाउने समस्याका कारण व्यवसायीहरु पलायनको अवस्थामा पुगेको बताए । उनले सरकारले पूँजीगत खर्च गर्न नसक्दा व्यवसायमा मन्दी छाएको धारणा पनि राखे । ठूलो लगानीको व्यवसाय भएकाले उपकरणको बीमा गर्न उनले सुझाए ।

संघका सचिव भीम केसीका अनुसार सो अवसरमा एचपी खनाल एण्ड एसोसियटस्का संचालक ऋषिबहादुर खनालले लेखापढीसम्बन्धी,सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक कविराज पौडेलले बीमासम्बन्धी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, हेभी इक्यूमेन्ट ब्यवसायी संघ पोखरा कास्कीको संस्थापक अध्यक्ष लीलामोहन कुइँकेल, नेपाल हेभी इक्यूमेन्ट ब्यवसायी महासंघका केन्द्रीय सदस्य एव तनहँ हेभी इक्यूमेन्ट व्यवसायी संघका अध्यक्ष खिन्तबहादुर भण्डारी (भरत), कास्की हेभी इक्यूमेन्ट ब्यवसायी संघ पोखरा कास्कीको नि वर्तमान अध्यक्ष नेपाल हेभी इक्यूमेन्ट ब्यवसायी महासघ गण्डकी प्रदेस अध्यक्ष निलकण्ठ (निश्चल )पोखरेल, नेपाल हेभी इक्यूमेन्ट ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकै दौरानमा देहान कन्स्ट्रक्सनका संचालिका सावित्री गुरुङ पुनले आफ्नो मेसिनको बीमासमेत गराएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.