सुचना, समाचार र मनोरन्जन
Sarangi

यस वर्ष रुकुमका झण्डै दुइ हजार घरका खरको छाना हटाइए

काठमाडौँ/

रुकुम पश्चिममा खरको छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका– ३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएको हो।

गएको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक सय २० खरका छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण आठबीसकोट नगरपालिकाले गरेको छ भने सबै भन्दा कम ५२ खरका छाना विस्थापित सानीभेरी गाउँपालिकाले गरेको छ ।

त्यस्तै मुसिकोट नगरपालिकाले एक सय ६१, चौरजहारी नगरपालिकाले दुई सय ३०, त्रिवेणी गाउँपालिकाले दुई सय १४ र बाँफीकोट गाउँपालिकाले दुई सय ६५ खरका छाना विस्थापित गरेको छ । सुरक्षित जनता आवस कार्यक्रमा छनोट भएका घरलाई जस्तापाताले निर्माण गर्न चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले सम्मान ५० हजारका दरले रकम भुक्तानी गरेका थिए । भने मुसिकोट नगरपालिका छनोटमा परेकाप्रति घरपरिवारलाई ५५ हजार रुपैयाँका दरले रकम उपलब्ध बनाएको मुसिकोट नगपालिकाका प्रवक्ता समिरजङ मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनता आवास कार्यक्रममा नगरपालिकाको ८९ लाख रुपैयाँ बजेट खर्च भएको छ । बाँफीकोट गाउँपालिकाले पनि घर ठूलो सानोको आधारमा छनोट भएका दुई सय ६५ घरमध्ये ३४ घरधुरीले जस्तापाताको लागि ३१ हजार आठ सय २३ र बाँकी दुई सय ३१ घरधुरीले ५० हजार रुपैयाँका दरले रकम भुुक्ताानी गरिएको गाउँपालिका प्राविधिक प्रमुख दलबहादुर ओली जानकारी दिनुभयो ।

आठबीसकोट नगरपालिकामा भने एक हजार एक सय २० घरधुरीलाई बोलपत्र प्रक्रियामार्फत हुलास स्टिल उद्योग कम्पनीले आठ करोड ५७ लाख रुपैयाँमा ठेक्का लिएको थियो । ठेक्कामार्फत जस्तापाता उपलब्ध बनाउँदा सुरक्षित जनता आवास कार्यक्रममा छनोट भएका घरपरिवारलाई राहत भएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।

आव २०७९÷८० मा नगरपालिकामा ठूलो सङ्ख्यामा खरका छाना विस्थापित गरे पनि अझै खरका छाना विस्थापित गर्न चार सय ८० घर बाँकी रहेको उहाँको भनाइ छ । त्यस्तै सानीभेरी गाउँपालिकामा खरको छाना विस्थापित गर्न २६ लाख, त्रिवेणी गाउँपालिकामा एक करोड सात लाख र चौरजहारी नगरपालिकामा एक करोड १५ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

आर्थिक अवस्था कमजोर, खरको छाना भएका र विपन्न परिवारलाई वडाले सिफारिस गरेको आधारमा छनोट गरी पालिकाले जस्तापाता उपलब्ध बनाएका थिए । खरको छाना हटाएर जस्ता पाताले घर निर्माण गर्न नसकिने अवस्थामा स्थानीय सरकारले जस्तापाता खरिदको लागि रकम उपलब्ध बनाउँदा स्थानीयहरु खुसी भएका छन् ।

Leave A Reply

Your email address will not be published.