सुचना, समाचार र मनोरन्जन

चितवनमा जङ्गली जनावरको आक्रमणबाट चार जनाको ज्यान गयो

चितवन/

चालु आर्थिक वर्षको दुई महिनामा चितवनमा जङ्गली जनावरको आक्रमणबाट चार जनाको ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको हो ।

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परि ज्यान गएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट ज्यान गएको उनले जानकारी दिए ।

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परि ज्यान गएको थियो । यस्तै, रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीको आक्रमणमा परि ज्यान गएको हो ।

त्यस्तै, अवधिमा चार वटा गैँडा मृत भेटिएका छन् । यसमध्ये एउटा सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणमा परेर मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उनले बताए ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२÷७३ देखि अहिलेसम्म निकुञ्जमा २ सय ४ वटा गैँडा मरेका छन् । तीमध्ये १ सय २ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बुढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ वटा रहेका छन् ।

यस्तै, सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११ , खाडलमा परि तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेका २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.